इटहरीः प्रदेश एकका प्रमुख पर्शुराज खापुङ्गले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगबाट प्राप्त गरेका छन् । 

 प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ प्रमुख पर्शुराम खापुङलाई प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम बुझाएका हुन । प्रतिवेदन बुझेसँगै प्रदेश १ मा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

आयोगबाट निर्वाचन परिणाम औपचारिक रूपमा प्राप्त भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न बाटो खुलेको र संवैधानिक व्यवस्था अनुसार छिट्टै प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख पर्शराम खापुङले बताएका छन् ।

कुनै एउटा दललाई बहुमत प्राप्त नभएकाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (३) मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२)बमोजिम मुख्यमन्त्री नियुक्ति प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था छ ।