इटहरीः धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ्गलाई धरानका ६ राजनितिक दलले धम्किको भाषा प्रयोग गरी कार्यपालिका सदस्यलाई राजिनामा दिनु भन्ने शव्द फिर्ता लिएर अभिभावकीय भुमिका निर्वाह गर्न सुझाव दिएका छन् । 

मेयर र कार्यपालिका सदस्यबिच विवाद बढिरहेको अवस्थामा आइतबार धरानका ६ वटा राजनितिक दलले एक विज्ञप्ती  जारी गर्दै मेयर साम्पाङ्गलाई अभिभावक बन्न सुझाएका हुन् । 

 ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भनी प्रयोग गरिएको शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ विज्ञप्तीमा आग्रह गरिएको छ ।  

उपमहानगरपालिकाको कार्यपालिका बैठकमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले उत्पन्न विवादमा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्दै बैठक बहिस्कार गर्दै आएकोमा शुक्रबार मेयरले पत्रकार सम्मेलन गर्दै राजिनामा गर्न भनेका थिए । 

मेयरको उक्त शव्दले झनै अवस्था खलबलिन सक्ने भन्दै ६ राजनितिक दलले कार्यपालिका सदस्यले अपमानित महशुस गर्नु स्वाभाविक भएको उल्लेख गर्दै नेतृत्वको हैसियतमा समस्या समाधानको पहल लिन मेयरलाई भनेका छन् । 

कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द मेयरबाट प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख दलहरूका स्थानिय नेतृत्वहरुले संयुक्त विज्ञप्ति मार्फत उक्त सुझाव दिएका हुन ।

319748856_3285149098413269_2345271180755237486_n

नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङ (फोक्वाहाङ सुब्बा), जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरानका अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले आज आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मेयर साम्पाङ्गलाई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ ‘हजारौँ शहीदहरूको बलिदान, लाखौँ लाख पार्टी कार्यकर्ताहरू र नेपाली जनताको रगत पसिनाबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उद्दण्ड सहितको अधिनायकवाद उदय हुन लागेको आभास भएको छ ।’

२०७९ असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा मेयरले  कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि अवस्था खराव बन्दै गएको थियो । यस्तो अवस्थामा सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको ६ दलको विज्ञप्तीको आशय छ ।