इटहरीः चर्को बैंकको ब्याजदरविरूद्ध सुनसरी र मोरङका उद्योगी र व्यापारीले बिहिबारदेखि संयुक्त आन्दोलन गर्ने भएका छन् ।
बैँको चर्को व्याजदरकै कारण उद्योगहरु धारासायी भएको र कतिपय उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि आन्दोलनमा उत्रिने भएका हुन ।
उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् ।
उद्योगी व्यवसायीहरुका तीन दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् । रिजालका अनुसार बन्द हड्तालमा उत्रनु व्यापारीको बाध्यता भएको छ ।
हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनिहरुको भनाई छ । बिहीबारदेखि सुरू हुने आन्दोलन देशव्यापी बनाएर अगाडि बढ्ने व्यापारीहरुको भनाई छ ।