इटहरीः प्रतिकुल बैंकिङ्ग नीतिका कारण व्यापार व्यावसाय मारमा परेको भन्दै मोरङ्गका उद्योगी तथा व्यापारीले आन्दोलन सुरु गरेका छन् ।
आन्दोलनको कार्यक्रम स्वरुप बैंकको चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्यवासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएका हुन ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका थिए ।
बिहान ८ बजेदेखि व्यापार व्यावसाय बन्द गर्दै मोरङ्ग व्यापार संघको कार्यलयमा भेला भएका उद्योगी तथा व्यापारीले राष्ट्र बैँक अगाडि आर्थिक आपतकाल नामको कालो व्यानर सहित धर्ना दिएका थिए ।
राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्म जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् ।
उनीहरूले बिहान साढे ९ बजे मोरङ व्यापार संघबाट निस्किएको विरोध ¥यालीले बजार परिक्रमा गर्दै १० बजेदेखि ४ बजेसम्म राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिएको थियो ।
धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए । उनले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४।४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
व्यवसायीले शुक्रवार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन् । उनीहरूले पाँच सूत्रीय माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ ।
एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ ।