प्रकाश बन्जारा 

इटहरीः उद्योग वाणिज्य संघ इटहरीले झण्डै चालिस लाख रुपैँया खर्च गरेर खरिद गरेका पोर्टेवल सार्वजनिक सौचालय क्याविनहरुलाई इटहरी उपमहानगरपालिकाले वेवास्था गरेको छ । 

नगरभित्र सार्वजनिक शौचालय नभएपछि उद्योग वाणिज्यसंघले आफ्नो कोषबाट करिव ४० लाख रुपैँयाका ८ जोर  मोवाइल ट्वाइलेट खरिद गरेर इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेललाई हस्तान्तरण गरेको थियो । गत भदौ २४ गते सेप्टेम्बर ९ तारिखका दिन उपमहानगरकै प्राङ्गणमा एक भव्य कार्यक्रम गरी हस्तान्तरण गरिएको सार्वजनिक शौचालयका क्याविनहरु उपमहानगरले लामो समयसम्म आफ्नै आँगनमा थन्काएको थियो । हाल आएर आँगनमै संरचना बन्न लागेपछि मोवाइल शौचालयहरु अन्यन्त्र लगेर थन्काइएको छ । 

नगरभित्रका बिभिन्न ठाउँमा शौचालय राख्नको लागि भन्दै उद्योग वाणिज्य संघले व्यवसायीको पैसाले खरिद गरेका क्याविनहरु प्रयोग हिन भएको भन्दै उद्योग वाणिज्य संघभित्रैका पदाधिकारीले दुःख व्यक्त गरेका छन् । 

उद्योग वाणिज्य सैघकी कोषाध्यक्ष गायत्री कट्वाल भण्डारीले संस्थाको एजेन्डामै भएको योजना अन्तर्गत उपमहानगरलाई वाणिज्य संघले शौचालय खरिद गरेर हस्तान्तरण गरेको बताइन । शौचालय क्याविनहरु हस्तान्तरण गरेपछि भने त्यसको के कस्तो सदुपयोग भएको छ भन्ने बारेमा संस्थाले समिक्षा गर्न नपाएको भण्डारीको भनाई छ । 

321752578_1717366502028667_2777274929276902013_n

उपमहानगरको बजार क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नभएपछि हिँड्दा हिँड्दै अथवा बजारमा भएको वेला ट्वाइलेट लाग्यो भने शौचालय नभेटिने इटहरीमा अहिले २ वटा शौचालय निर्माणधिन अवस्थामा छन् । एउटा सार्वजनिक शौचालय इटहरी चोकमा रहेको छ भने अर्को सार्वजनिक शौचालय जुटविकास चोक निर निर्माण भइरहेको छ । 

उपमहानगरका प्रशासन शाखाका अधिकृत संजीव खड्काका अनुसार अहिले केही क्याविन वडा कार्यलयहरुलाई दिने कुरा हुँदैछ भने केही मेला र महोत्सवमा दिन थालिएको छ ।  

एक महिना अघिसम्म नगरपालिका कार्यलयको प्राङ्गणमा रोइरहेको शौचालय प्रयोग विहिन बन्दा इटहरीका व्यवसायीबाट उठाइएको रकमको सदुपयोग हुन नसकेको गुनासो व्यवसायीले गरेका छन् । 

केही वडा अध्यक्षहरुले शौचालय मागेर वडा कार्यलयमा लगेको तर त्यसको पुर्ण सदुपयोग नभएको इटहरीउपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलले बताए । प्रदेश पोर्टलसँगको संवादमा बोल्दै पोखरेलले आफ्नो अगुवाईमा नगरका ३ ठाउँमा सार्वजनिक शौचालयको निर्माण कार्य सुरु भएपछि वाणिज्य संघबाट उपमहानगरलाई शौचालय हस्तान्तरण गरिएको बताए । 

उद्योग वाणिज्य संघले पहिल्यै खरिद गरेर ल्याएको भएपनि सदुपयोग गर्न नसकेपछि  नगरपालिकालाई हस्तान्तरण गरेको बुझिएको छ । 

सदुपयोग गर्ने भनिएता पनि पोर्टेवल शौचालय कहाँ सदुपयोग गर्ने कसले रेखदेख गर्ने भन्ने नै अन्यौल भएको र खर्चालु भएको कारण पनि पोर्टेवल शौचालय सदुपयोगमा नआएको बुझिएको छ ।  

उपमहानगरपालिकालाई हस्तानतरण गर्ने गरी उद्योग वाणिज्य संघले खरिद गरेका मोवाइल ट्वाईलेटहरु खरिद गर्नुपुर्व पनि कार्यसमितिमा पुर्ण सहमति नभएको समाचार स्रोतले बताएको छ ।