इटहरीः  तलबाट धुँवाको मुस्लो माथि कोठासम्म आइरहँदा आफु बाँच्ने आशा मारिसकेका झापाका निराकार पाण्डेले मृत्यु अघि आफ्नो छोरालाई गरेको भिडियो कलको हृदय विदारक दृश्यले एक पल्ट नेपालीलाई नराम्रोसँग भावुक बनाएको छ । 

भिडियोले नेपालीमात्रै लाई भावुक बनाएको छैन । सारा संसारलाई नै स्तव्ध बनाएको छ । कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर बिहिबार झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । पाण्डेले आफु आगलागीबाट बच्नकै लागि १२ तलामाथिबाट हाम्फाल्दा ज्यान गुमाएका छन् । 

हामफाल्नुअघि उनले झापाको बिर्तामोडमा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेको भिडियो सार्वजनिक भएको छ । भिडियोले सारा लाई स्तव्ध बनाईदिएको छ । आफ्नो सम्भाव्य मृत्यु अघि पाण्डेले  आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेको परिवारले बताएको छ । उनि आफ्नो छोरासँग लामो समय कुरा गरेका छन् । 

उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको आवाज , कोठामा धुँवा छिर्दै गरेको कारुणिक दृश्य अनि छोरालाई अर्तिको शैलीमा आफ्नो माया प्रस्तुत गरेका छन् ्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यू।’

त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

यस्तो थियो पाण्डेले छोरासँग गरेको कुराकानीः

सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । 

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। 

कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू।

उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। 

अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। 

भोलिका दिनमा तिमीले उसैलाई सहयोग गर्छ है बाबु। राम्रो मान्छे बन्नू। कसैलाई चिट गर्नुहुन्न छोरा। मैले जे जति दुःख गरेँ, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ। 

तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशी मामु, अग्नि बुबा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति शाली गोथ्ले, तिम्रो भाइ, आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, ज्ञानी बस्नू। 

यहि नै निराकारले बोलेको अन्तिम शव्दहरु हुन आफ्नो परिवारसँग । आगलागीमा परि दर्जन बढिले ज्याद गुमाएको अन्तराष्टिय सन्चार संस्थाहरुले बताएका छन् । जसमध्ये झापाका निराकार एक थिए ।