इटहरीः प्रत्येक ३ बर्ष हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनले इटहरी उपमहानगर क्षेत्रका व्यवसायीहरुका नेता भन्नेहरुलाई तताएको छ ।
यहि आउँदो माघ १४ गते निर्वाचन हुने निश्चय भएपछि इटहरीका व्यवसायीहरुका नेता भन्नेहरु तातेका हुन् । व्यवसायीहरुले भने हालसम्म उद्योग वाणिज्य संघको नेतृत्व लिनेहरु व्यवसायीका सच्चा नेता बन्न नै नसकेको बताउँदै आएका छन् ।
निर्वाचन हुन १ महिनाअघिसम्म ठूला ठूला व्यवसायीका मुद्धा बोक्ने र गुलिया आश्वासन बाँड्ने निर्वाचनपछि ती सबै कुरा भुल्ने रोग भीम पौडेल कार्यकाल सकिन लाग्दा पनि जस्ताको त्यस्तै गरेको व्यवसायीहरुको गुनासो रहेको छ ।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन व्यवसायीहरुको हितको लागि नभई केबल राजनितिक सिढी चढ्ने अखडा मात्र भएको रेडिमेड व्यवसायी संघ इटहरीका सचिव हरि खतिवडाको भनाई छ ।
हामी व्यवसायीहरुको हितमा काम गर्ने, हाम्रा पिरमर्कालाई बुझ्ने व्यवसायीका असल नेता कोही पनि पाउन नसकेको उनले बताए । विगतका बर्षहरुबाटै इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको हितमा काम गर्ने भनेर निर्वाचन लडेकाहरु पछि राजनितिक दलका नेता, सांसद बन्न र लाभको पदमा पुग्नका लागि मात्र होमिएको स्पष्ट रहेको उनको भनाई छ ।
उनि भन्छन्–‘खोई बजारमा वाणिज्य संघको चुनाव लाग्यो भन्ने हल्ला चाँही सुनेको छु । तर म चाँही वाक्क दिक्क भईसके । मलाई कुनै उत्साह छ , न कुनै उमङ्ग नै ।’
उनले यसपटक व्यवसायीको हितका काम गर्ने भन्दै आफुलाई नेता ठान्नेहरुलाई राम्रो सवक सिकाउनु पर्ने अवस्था सृजना भएको बताए । यसपटकको निर्वाचनमा पनि नेताहरुको गुलिया आश्वाशनमा भुलेर मतदान गरे इटहरीका व्यवसायीहरुले नराम्रो दुःख पाउने उनको भनाई छ । यसपटक नेतृत्व छान्दा धेरै नै सोच विचार गर्न पर्ने जरुरी रहेको उनले सुनाए ।
उनले कर कार्यालयको छापामारी, घर बहाल कर, बैंकले दिने अनावश्यक तनाव, घरवालहरुको मनपरी भाडाबृद्धि दर जस्ता समस्या जस्ताको त्यस्तै रहेको बताए । बर्षौबाट यही मुद्धा निर्वाचन ताका नेताहरुले उठाएपनि इटहरीको हकमा जस्ताको त्यस्तै नै रहेको खतिवडाको दावी छ ।
यी हुन् आकाँक्षीहरु
माघ १४ गते हुन गइरेको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा हालसम्म अध्यक्ष पदका लागि दुई महिला र दुई पुरुषहरुले आकाँक्षा देखाएका छन् । केहीले त सामाजिक सञ्जालमा नै आफ्नो उम्मेदवारीसंगै जित नै पक्का भएको भन्दै स्टाटस पोष्ट गर्न भ्याईसकेका छन् ।
सत्ता साझेदार दलहरुको तर्फबाट युवा व्यवसायी एमालेकी रञ्जु सिग्देल र राप्रपाका बिष्णु रिजालको नाम अघि सारिएको छ । सिग्देलले भने आफुनै आधिकारीक अध्यक्ष पदको उम्मेदवार भएको दावी गरेकी छन् ।
उता कांग्रेसको समर्थनमा पनि दुई जनाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी रहने दावी गरेका छन् । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका पर्यटन विभाग प्रमुख जीवन पराजुली र वाणिज्य संघकै कोषाध्याक्ष गायत्री कट्वाल भण्डारीले अध्यक्ष पदका लागि उम्मेदावरी दावी गरेका छन् ।
पराजुली र भण्डारीले स्थानीय तहको निर्वाचन अगाबै नै व्यवसायीहरु माझ पुगेर फर्म दर्ता गर्ने देखि लिएर आ आफ्नो पक्षमा लबिङ र मतदान गर्न अभियानै चलाएका थिए । सो समयदेखि नै दुवै जना सक्रिय भएर व्यवसायीहरु माझ पुगिरहेका छन् । पराजुली भने दैनिक रुपमा जस्तो व्यवसायीहरुको समस्याको हल गर्नका लागि कहिले राजस्व प्रशासन, कहिले प्रहरी प्रशासन र कहिले घरधनीहरुसंग लड्दै आईरहेका छ ।
सर्वसम्वत नेतृत्वमा पुनः आफै अध्यक्ष बन्ने दाउमा पौडेल
यसपटकको निर्वाचनमा धेरै जना आकांक्षी देखिएपछि उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदमा सर्वसम्वत निर्णय गराएर पुनः एक कार्यकाल आफै बस्ने मनसाय बनाएर भीम पौडेल अर्को लविङमा लागेका छन् ।
आफ्नो ३ बर्षे कार्यकालम व्यवसायीहरुको मन जित्ने त्यस्तो उदाहरणीय कार्य गर्न नसकेका पौडेलले ३ बर्ष पुनः नेतृत्वमा आएर केही गर्ने बताउँदै जोडबल लगाईरहेका छन् ।
विद्यान त स्थानीय निर्वाचन अघि नै वाणिज्य संघको निर्वाचन गराईसक्नु पर्ने थियो । तर, इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि टिकट लिने लडाईमा लागेका पौडेलले चुनाव सार्ने काम गरेका थिए । मेयरको टिकट पाए वाणिज्य संघ छोड्ने र नपाए पुनः नेतृत्व गर्ने भित्री मनासाय बनाएका उनी मेयरको टिकट पाउने दौडमा पराजित भएका थिए । उनले मेयरको टिकट नपाएपछि प्रदेश सांसदको टिकटका लागि पनि निकै ठूलो मेहत गरेका थिए । प्रदेश सांसदको टिकट लिन सफल नभएपछि उनी पुनः एक कार्यकाल वाणिज्य संघकै नेतृत्व गर्ने योजनाका साथ भित्र भित्र आफुलाई तयार बनाएको बुझिएको छ ।
उनकै योजना र सल्लाह अनुसार बिष्णु रिजाललाई अगाडि सारिएको बुझिएको छ । नाताले सम्धी पर्ने रिजाललाई अघि सारेर अन्तिममा आफु नै नेतृत्व लिने दाउमा पौडेल लागि परेको श्रोतहरुको भनाई छ ।