इटहरीः आफु काम गर्ने साहुबाटै अन्यायमा परेका इटहरी २० तरहराका  लालबहादुर विकलाई न्याय माग्दै इटहरी चौकमा स्थानीय र आफन्तले बिहिबार प्रदर्शन गरेका छन् ।

परिवार र स्थानीयले  लाल बहादुर विक निर्दोष रहेको भन्दै जिल्ला अदालतको फैसला विरुद्ध उनीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरुले ‘ लाल बहादुर निर्दोष हुन्, पीडितलाई न्याय देऊ’ लगायतका नारा लगाउँदै करिब १ घण्टा इटहरी चोकमा प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा पीडित लालबहादुरका ७० वर्षीय बुवा आमा, उनकी श्रीमती समेत सहभागी थिए । पीडित लाल बहादुरका बुवा हर्क बहादुर विश्वकर्माले छोरामाथिको अन्यायले आफू मर्नु न बाच्नु भएको पिडा सुनाएका छन् । उनले जसरी भए पनि आफ्नो छोरालाई कारागारबाट छुटाउन अनुरोध गरे ।

‘घरमा हातमुख जोर्न समेत नसक्ने अवस्थामा रहेका लालबहादुरलाई अदालतले तीक करोडको विगो हाल्न भन्दै फैसला सुनाएपछि परिवार आन्दोलित भएका हुन ।  

गोपाल भनिने लालबहादुर विश्वकर्मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० का स्थायी बासी हुन ।  सुन पसलमा दैनिक ज्यालादारीमा काम गरेर आफ्नो गुजारा टार्ने लालबहादु आफ्नै साहुले फसाएर मुद्धा दायर गरेपछि प्रहरी झ्यालखानामा छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश निर्मला योङयाले गरेको फैसलामा लालबहादुरले झन्डै सवा तीन करोड रुपैयाँ तिर्नुपर्ने उल्लेख छ । 

उनले आफू अन्यायमा परेको भन्दै जिल्ला अदालत विरुद्ध उच्च अदालत विराटनगरमा रिट निवेदन दिएका छन् । उक्त रिट निवेदन आगामी पुस २६ गते पेसी चड्दैछ ।