इटहरीः नेपाल राष्ट्र बैंकले गरेको चालु पुँजी कर्जा मार्ग दर्शनको संशोधन खारेज हुनुपर्ने व्यापारीहरुले माग गरेका छन् ।
बैँकको व्याजदर वृद्धिको विरोधमा आन्दोलनरत व्यापारीहरुले भर्खरै सरकारले सकारात्मक प्रतिक्रिया दिएपछि आन्दोलन रोकेका थिए ।
शनिवार मोरङ्ग व्यापार संघले एक विज्ञप्ति जारी गर्दै पुँजी कर्जा मार्गदर्शनको संशोधनका धेरै बुँदा जटिल रहेकाले विद्यमान प्रतिकूल आर्थिक अवस्थालाई दृष्टिगत गरी मार्गदर्शनलाई स्थगित वा खारेज गर्नुपर्ने माग गरेको छ ।
संघका अध्यक्ष नविन रिजालद्धारा जारी गरिएको विज्ञप्तीमा मार्गदर्शनको बुँदा नम्बर ८।६ मा उल्लिखित व्यवस्था व्यवसायीको हितमा नभएको बताइएको छ ।
नवीकरण हुने प्रकृतिका सम्पूर्ण चालु पुँजी कर्जा खाता आर्थिक वर्षको कुनै एक समयमा उद्योग–व्यवसायको प्रकृतिअनुसार कम्तीमा लगातार ७ दिन शून्य बक्यौता कायम भएको हुनुपर्ने उक्त बुँदामा उल्लेख छ ।
उद्योगी–व्यवसायी मात्र ऋणी नभइ सरकार र बैंकले पनि कतैबाट ऋण लिएको हुनाले सरकार र बैंकले पनि यस प्रकारले आ–आफ्ना कर्जा ७ दिनसम्मका लागि शून्य कायम गर्न सक्छन् की सक्दैनन् भनेर व्यापार संघले प्रश्न गरेको छ ।
संशोधनको बुँदा नं.३ मा उल्लिखित चालु पुँजी कर्जाको सीमा निर्धारणसम्बन्धी व्यवस्था अव्यावहारिक भएको संघले टिप्पणी गरेको छ।
मार्गदर्शनको बुँदा नं. १०.१२ पनि उद्योग–व्यवसायका हितमा नभएको संघको धारणा छ। उक्त बुँदाले प्रत्येक त्रैमासको अन्तिम महिनामा चालु पुँजीको सीमावृद्धि गर्न र पुराना ऋणीलाई कुनै पनि शीर्षकमा नयाँ चालु पुँजी कर्जा स्वीकृत गर्न नपाइने व्यवस्था गरेको छ। साथै कर्जाको ब्याज–साँवा भुक्तानीका लागी चालु पुँजी कर्जा खाता खर्च गरी असुल गर्न नपाइने बुँदाको आशय छ।
मोरङ्ग व्यापार संघले यस बुँदामा उल्लेखित ‘कर्जाको ब्याज–साँवा भुक्तानीका लागि चालु पुँजी कर्जा खाता खर्च गरी असल गर्न पाइने छैन’ भन्ने वाक्यांश हटाइनु पर्ने माग गरेको छ ।