स्याङ्जाः  दक्षिण कोरिया जानका लागि युवाको आकर्षण बढिरहँदा यहाँका एक युवाले कोरियाको वैदेशिक रोजगार छाडेर गाउँमै माछापालन व्यवसाय गरेका छन्। चार वर्ष कोरिया बसेर बिदामा घर आएका अर्जुनचौपारी–१, ठाडो खेतका ३२ वर्षीय कमल अर्याल माछापालन व्यवसायमा लागेका हुन् ।  मासिक डेढ लाखको कमाइ छोडेर अर्यालले स्वदेशमै केही गर्छु भनेर माछापालनमा लागेको बताए । 

निकै मेहनत र परीक्षा दिएर नाम निकालेर कोरिया गएको बताउँदै अर्यालले यहाँ पनि दुःख गरे केही गर्न सक्छु भनेर पुनः कोरिया नगएको बताए ।  चार वर्षमा ८० लाख कोरियामा कमाएको बताउँदै अर्यालले कोरियाबाट ल्याएको ६० लाख माछापालनमा लगाएको जानकारी दिए ।  

उनले १० रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी बनाएर माछा पालेका हुन् ।  एक पोखरी र पाँच हजार भुराबाट माछा पाल्न थालेका अर्यालले तीन वर्ष पुग्दा अहिले पोखरीमा ५० हजार भुरा पालेका छन् ।  अर्यालको तीन रोपनीको एउटै पोखरीमा ३५ हजार माछा पालिएको छ भने अन्य चारवटामा १५ हजार रहेका छन्। 

पोखरीमा माहुर, रहु, कामन कार्प जातका माछा पालेको र राम्रोसँग फस्टाएको अर्यालले बताए ।  माछा पाल्न हावापानी राम्रो भएको बताउँदै अर्यालले एउटै माछा तीन किलोसम्म भएको बताए ।  कोरियाभन्दा माछापालनबाट १० लाख वार्षिक कमाएको बताउँदै अर्यालले परिवारसँगै बसेर आफ्नै जन्मथलोमा काम गर्दा सन्तुष्टि मिलेको बताएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।