इटहरीः इटहरी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा नै समेटेर असारे विकास प्रवृतिको अन्त्य गर्ने लक्ष्य लिएको छ ।
सरकारी बजेटमा प्रस्ताव गरिने विकास खर्चमा चालू र पुँजीगत दुवै प्रकृतिका खर्च हुन्छन्। यसलाइ अन्त्य गर्ने इटहरी उपमहानगरले जेष्ठ मसान्तलाई नै आर्थिक बर्ष मान्ने भएको छ । सोही अनुरुप अहिलेबाटै विकास योजनाहरु धमाधम थालिएको छ । असारे विकास प्रवृतिको अन्त्यका लागि इटहरी उपमहानगरले विकासे योजनाहरुलाई धामधम थालनी गरेको हो ।
कतिपय स्थानिय तहमा बजेट बाडफाड भईनसक्दै इटहरी उपमहानगरपालिकाको विकास कार्य अघि बढाएको छ । असारे विकास हुने गरेको इटहरीमा आर्थिक बर्ष २०७९/०८० देखी विकास निर्माणका कार्यहरु असार नलाग्दै सक्ने उदेश्यका साथ काम भईरहेको हो । पूर्वाधारतर्फका विकास निर्माणका वार्षिक योजनाहरु तथा कार्यक्रमहरुलाई भाद्र महिनाभित्र योजना संचालन क्यालेण्डर बनाइ वार्षिक योजना तथा कार्यक्रमहरुलाइ जेष्ठ मसान्तभित्र सम्पन्न गरि असारे विकास प्रवृतिको अन्त्य गरिने छ भनेर इटहरी उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९ / ८० नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ । सो नीति तथा कार्यक्रम इटहरी उपमहानगरपालीकाको ११ औ नगर सभाबाट पारीत भएको इन्जिनियर जीवन घिमिरेले बताए ।
ईन्जिनियर घिमिरेले असारमा हुने विकास हतारमा गरीने साथै मौसम पनि प्रतिकुल हुने हुदाँ गुणस्तरीय पनि नहुने भएकाले ज्येष्ठ मसान्त भित्रै पुर्वाधार निर्माण सक्ने गरि कार्य अघि बढिरहेको बताए । इटहरी उपमहानगरपालीकामा हाल नगर स्तरीय र वडा स्तरीय गरेर ६० वटा योजनाहरु सञ्चालित छन् । जसमध्ये ३५ वटा योजना नगर स्तरीय हुन् भने २५ वटा योजना वडा स्तरीय हुन् ।
जसमध्ये ३८ वटा योजनाहरु बोल पत्रको माध्यमबाट सञ्चालीत छन् । असारमा विकासको काम भन्दा पनि पुर्ण रुपमा बजेटमा फोकस गर्न इटहरी उपमहानगरपालीकाले सो नीति लिएको घिमिरेले बताए ।
यता उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले विकास निर्माणको काम तिब्र गतिमा गर्ने निर्देशन दिएका छन । विकासको काम छिटो छरितो र गुणस्तरीय गर्न इन्जिनियरहरुलाई मेयर पौडेलको निर्देशन थियो । मेयर पौडेलले समयमै विकास योजना नसक्ने ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेर कानूनी कार्वाही अगाडि बढाउन समेत योजना शाखामा कार्यरत कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।