विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको अगुवाईमा सोमबार सुन्दरहरैंचा नगरपालिकाका प्रतिनिधि, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मी सम्मिलित टोलीले सुन्दरहरैंचा नगरपालिकाका होटलको अनुगमन गरेको छ ।

६ वटा होटलको अनुगमन गर्दा कुनै पनि होटलको स्तर गत वर्षको अनुगमनमा भन्दा सुधार नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । होटलको स्वच्छता सम्बन्धी विभिन्न ५० वटा मापदण्डमा आधारित रहेर गरिएको अनुगमनमा एउटा होटलले सामान्य मापदण्ड पनि पूरा नगरेको पाइएको छ । नयाँ होटल भएको हुनाले पहिलो पटकलाई सचेत गराइएको र ७ दिनभित्र कार्यालयमा स्पष्टीकरण दिन अनुरोध गरिएको रिजालले जनाए ।

त्यस्तै, एउटा होटलले गत वर्षको अनुगमनमा पूरा गरेको मापदण्डभन्दा कम मापदण्ड पालना गरेको पाइएको रिजालले जानकारी दिए । अघिल्लो वर्ष स्वच्छताको मापदण्डबापत सन्तोषजनक (हरियो स्टिकर) मानक पाएकामध्ये एउटा होटलले त्यो मानक नपाएर सो भन्दा तल्लो मानक जनाउने सामान्य लेखिएको पहेँलो रङको स्टिकर पाएको छ । बाँकी ४ वटा होटलले पहिलेकै हरियो स्टिकर पाएका छन् ।

सुन्दरहरैंचाका स्वाद रेष्टुरेन्ट, प्लानेट लाउञ्ज, गोर्खा किचन, कफी क्लब, मुस्ताङ थकाली र विराटचोक बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनको अनुगमन गरिएको थियो । अनुगमन गरिएकामध्ये केही होटलमा म्याद गुज्रिएका सामान पाएपछि नष्ट गरिएको थियो । गोर्खा डिपार्टमेन्ट स्टोरको केही सामानको गुणस्तरमा शंका लागेपछि टोलीले नियन्त्रणमा लिएर परीक्षणको लागि खाद्य प्रयोगशालामा पठाउने भएको छ ।

अधिकांश होटलको भान्सामा फोहर पाइएको, खाना पकाउने तेलको बारम्बार प्रयोग गरिएको पाइएको र जाडोको समयमा समेत केही होटलको भान्सामा झिँगा भन्केको पाइएको तथा केही होटलमा डस्बिनको उचित प्रयोग गरेको नपाइएको रिजालले जानकारी दिए ।