इटहरीः पौष १५ गतेसम्ममा जग्गा वर्गीकरणको काम सक्ने भनेर घोषणा गरेको इटहरी उपमहानगरले अहिलेसम्म जग्गा वर्गीकरणको काम सकेको छैन । 

सोमबार बसेको उपमहानगरको कार्यपालिका बैठकमा धेरै जसो कार्यपालिका सदस्यहरुले आफ्नो वडाको धेरै जग्गा आवासीय रहेको प्रतिक्रिया दिएपछि बंैठकको अध्यक्षता गरिरहेका मेयर हेमकर्ण पौडेलले अहिले आफुहरु निर्णय गर्ने ठाउँमा रहेकाले निर्णायक आवाज निकाल्न सदस्यहरुलाई सुझाएका थिए तर कार्यपालिका सदस्यहरुले भने आफ्नो आफ्नो वडाको जग्गालाई आवास क्षेत्रमा वर्गीकरण गर्नुपर्ने आवाज बोलेका थिए । 

इटहरी उपमहानगर भरिको सबै जग्गा आवास क्षेत्रमा राख्ने निर्णय कार्यपालिकाले गरे आफुले पनि स्वीकार गर्ने तर त्यसलाई संघीय सरकार र नापी विभागले पनि प्रश्न गर्ने सक्ने भन्दै मेयर पौडेलले सबैलाई जवाफ दिन सक्ने गरी निर्णय गर्नुपर्ने आवश्यक गर्नुपर्ने बताए । 

भू–उपयोग ऐनलाई अन्तिम रुप दिन नसक्दा घर जग्गा कारोबार बन्द रहेको साथै कित्ता काट नहुँदा राजश्व समेत प्रभावित भएकाले माघ मसान्तसम्म वर्गीकरणको काम सक्ने मेयर हेमकर्ण पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् । 

वडा वडामा वर्गीकरणको जिम्मा दिएपनि वडाबाट समयमा वर्गीकरणको काम ढिला भए नगरस्तरिय समिति बनाएरै भएपनि माघ मसान्तसम्म सबै वर्गीकरणको काम सकेर भू– उपयोग ऐन टुङ्गो लगाउने र जग्गा कित्ताकाटको काम सुरु गर्ने मेयर पौडेलले बताएका छन् ।