इटहरीः केही दिनदेखि तराई भेगमा बढेको चिसोका कारण जनजिवन कष्टकर बनेको छ । चिसोका कारण कठ्याग्रिएर सप्तरीमा दुई जनाको मृत्यु भइसकेको छ । 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु छ । मृत्युु  हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् । चिसोकै कारण यस अघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियोे ।

बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको बताइएको छ । चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको थियो । कपडाको अभावमा उनको कठयांग्रिएर मृत्यु भएको गाउँलेले बताएका छन् ।  

बिगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भएको छ । चिसो बढेपछि तराईका  अधिकाश ठाउँमा बाहिर आवतजावत कम छ भने इटहरी लगायतका केहि स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिएका छन् । यता सुनसरी जिल्ला सदरमुकाममा समेत जाडोबाट बच्न दाउरा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।