इटहरीः विराटनगरको तुलसी बहुउद्देश्यीय सहकारीबाट सर्वसाधारण बचत कर्ताको बचत ठगि भएको भन्दै मुद्धा दायर भएको छ ।
सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरूविरुद्ध ठगी मुद्दा दायर भएको हो ।
त्ुालसी सहकारीका सन्चालक सहितको मिलेमत्तोमा विपरीत बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा मंगलबार ठगीमा मुद्दा दायर गरेको हो ।
ठगी गरेर फरार भएका सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा पक्राउ परेका तुलसी सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगीमा मुद्दा दायर भएको हो ।
म्ुाद्धा परेकाहरुको बयान सुरु बुधबारबाटै शुरु भइसकेको बताइएको छ । बयान सकिए सोहीदिन थुनछेक बहस हुनेछ । बहसपछि अदालतले आदेश गर्नेछ ।
सहकारीका अध्यक्ष शर्मासहित संचालक र प्रबन्धकहरूले ६७ करोड ७६ लाख २१ हजार २६८ रुपैयाँ हिनामिना गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । जसमध्ये मोरङ प्रहरीमा १ हजार ३ सय ७ जनाले दिएको उजुरीको आधारमा मात्र ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ ठगी गरेको देखिएको छ । अध्यक्ष शर्माले १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ सहकारीको श्रेस्तामा नै नचढाई हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।
उनीहरुलाई सहकारी ऐन बमोजिम विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र विगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई विगो बमोजिम जरिवाना तथा कैद सजाय माग दाबी लिएर अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बताएको छ ।