इटहरीः मुख्यमन्त्री कार्यालयको वेभसाइटमा उल्लेख भएको सम्पत्ती विवरण अनुसार सरकारका मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएको छ ।
प्राप्त मन्त्रीहरुको सम्पत्ती अनुसार नेकपा एमालेबाट सामाजिक विकासमन्त्री रहेका बुद्धिकुमार राजभण्डारी र माओवादी केन्द्रबाट पर्यटनमन्त्री रहेका जीवन आचार्य धनाड्य मन्त्री देखिएका छन् ।
मुख्यमन्त्री हिक्मत कार्की
कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको सम्पक्ति अघिल्लो पटक मन्त्री हुँदा भन्दा नबढेको बताइएको छ । दोस्रो पटक मन्त्री परिषदमा पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सम्पत्ती यसअघि मन्त्री भएको बेलाको भन्दा खासै नबढेको उल्लेख छ । उनले २०७७ साउन ३२ गते बुझाइएको कार्कीको सम्पत्ती विवरण र अहिले बुझाइएको विवरण एकै छ ।
कार्कीले बुझाएको सम्पत्ती विवरणमा आफ्ना दाजु दिपक कार्की र आफ्नो नाममा झापा गौरादह १ मा कठ्ठा १० धुरमा बनेको दुई तल्ले पक्की घर, गौरादह ३ मा ३ कठ्ठामा बनेको पक्की घर र टहरा तथा श्रीमती अन्जना पाण्डेको नाममा ललितपुर महालक्ष्मी नगरपालिका ४ मा १ करोड ४० लाखमा किनेको २३२ र २८६ वर्गमिटर जग्गा रहेको उल्लेख गरेका छन् ।
यस्तै ६ तोला सुन, १० तोला चाँदी देखाइएको विवरणमा नगद नरहेको उल्लेख छ । कार्कीले श्रीमती अन्जना पाण्डे कार्कीको नाममा लिभरपुुल एजुकेसन नेटवर्क प्रालि मा २१ लाख ३८ हजार ७ सय, आफ्नै नाममा ड्रिमल्याण्ड हाउजिङमा १० लाख र सहिद मेमोरियल अस्पतालमा १ लाख ५० हजार रुपैयाँको शेयर रहेको उल्लेख गरेका छन् । महालक्ष्मी नगरपालिकास्थित घरजग्गा खरिद गर्दा लिएको ९० लाख ऋण तिर्न बाँकी रहेको उनले जनाएका छन् ।
कार्कीसँग २०१२ मोडलको २०७० सालमा २३ लाखमा खरिद गरेको सेन्ट्रो कार ,झापाको गौरादह कृषि तथा पशुपंक्षी विकास फर्म ३ लाखमा २०७३ सालमा स्थापना गरेर सञ्चालनमा रहेको बताइएको छ ।
बुद्धिकुमार राजभण्डारी
सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको मनग्ये सम्पत्ती देखिएको छ । उनले सार्वजनिक गरेको विवरणमा काडमाठौं ३२ नम्बर वडामा १३७ वर्गमिटर जग्गा ४६ लाख ५० हजारमा २०५८ सालमा खरिद गरेको र सोलुखुम्बुको सोलुदुधकुण्डको ६ नम्बर वडामा विभिन्न कित्तामा गरी १०६९२।५० वर्गमिटर जग्गा पैतृक सम्पत्ती रहेको उल्लेख छ । उनीसँग ३ तोला सुन, १० लाख ७६ हजार नगद बैंक रहेको छ ।
राजभण्डारीको विभिन्न कम्पनीमा ५६ हजार ३५० थान शेयर रहेको छ । जसमा सबैभन्दा धेरै सोलुखुम्बु ग्रुपमा ३० हजार कित्ता र बेनी हाइड्रोमा २० हजार, सोलु हाइड्रोमा ५ हजार कित्ता शेयर रहेको छ । उनले २० लाख रुपैयाँ ऋण देखाएका छन् । उनको साथमा २८ लाखमा खरिद गरेको टाटा सुमो, २४ लाख ५० हजारमा खरिद गरेको ट्याक्टर, २ थान मोटरसाइकल र १ थान स्कुटर रहेको उल्लेख छ ।
जीवन आचार्य
प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यसँग करोडौंको सम्पत्ती रहेको देखिएको छ । ललितपुर, विराटनगर तथा मोरङको बुढीगंगामा घर तथा जग्गा रहेको विवरण उनले बुझाएका छन् ।
आचार्यको नाामा ललितपुर सुनकोठी ९ (क) को ७०४ कित्ता नम्बरमा ९ आना र १२८१ कित्ता नम्बरमा १ आना २ पैसा जग्गा रहेको र उक्त जग्गामा साढे दुई तले पक्की घर रहेको उल्लेख छ । उक्त सम्पत्ती व्यवसाय र पैतृक सम्पत्तीले ३६ लाखमा खरिद गरेको उनले जनाएका छन् ।
यस्तै विराटनगर महानगरपालिका १ (ख) ३१७८ कित्ता नम्बरमा १५ धुर जग्गामा आचार्यको साढे दुई तले पक्की घर रहेको छ । सो घरजग्गा १३ लाख ५० हजार पैतृक सम्पत्तीले खरिद गरेको उनले जनाएका छन् ।
यस्तै मोरङको साविक हात्तीमुढामा मात्र ११ कित्ता जग्गा रहेको छ । हात्तीमुडा ४ मा २६३० वर्गमिटर, साविक हात्तीमुढा २ मा १९४७ वर्गमिटर र हात्तीमुढा २ मै २०३१।७१ वर्गमिटर जग्गा रहेको उनले जनाएका छन् । आचार्यसँग २० तोला सुन, ५० तोला चाँदी र ४५ लाख बैंक मौज्दात रहेको छ ।
आचार्यको एनस्याट प्रालि काठमाडौंमा ३३ प्रतिशत शेयर ३० लाखमा खरिद गरेको र जेएमडी ग्रुप अफ कम्पनी काठमाडौंमा ५० प्रतिशत शेयर ५० लाखमा खरिद गरेको रहेको छ । शेयरको रकम जग्गा विक्री तथा लाइफ कम्प्युटर प्वाइन्टको व्यवसायबाट आम्दानी गरेको उनले जनाएको छ ।
आचार्यले प्रभु बैंक लैनचौर शाखाबाट ५ लाख रुपैयाँ र दुहबी ८ का ओम थापाबाट ८० लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । आचार्यले ४१ लाखमा खरिद गरेको हुण्डाइ क्रेटा कार समेत सम्पत्तिमा देखाएका छन् ।
तिलकुमार म्याङ्गबो
यता खानेपानी, सिंचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूसँग ताप्लेजुङको पाथीभरा याङ्वरक २ मा पैतृक सम्पत्ती, फुङलिङ ४ मा ५ रोपनी ३ आना श्रीमतीको नाममा र इटहरी ६ मा १६ धुर जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तलबबाट खरिद गरेको उल्लेख गरिएको छ । यस्तै ७ तोला सुन, विभिन्न बैंक खातामा ३ लाख ८९ हजार ५८३ रुपैयाँ नगद रहेको उनले जनाएका छन् ।
सम्पत्ती विवरणमा विभिन्न चारवटा कम्पनीमा १० कित्ताको दरले ४० कित्ता शेयर रहेको उल्लेख गरेका मेन्याङ्बोले जनाएका छन् ।
दुर्गा प्रसाद चापागाई
भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंसँग श्रीमती इन्दिरा कार्कीको नाममा झापा विर्तामोड ३ मा १ कठ्ठा जग्गा, मोरङ सुन्दरहरैंचा १ मा १ विगाहा १० कठ्ठा जग्गा रहेको उल्लेख छ । सुन्दरहरैंचाको जग्गा कृषि फर्म संचालनका लागि सामूहिक रुपमा खरिद गरिएको उनले जनाएका छन् ।
चापागाईंले ३ तोला सुन, ५ तोला चाँदी र विभिन्न बैंकमा गरेर १ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । चापागाईंले अपर खोरङ खोला जलविद्युत् आयोजनामा आफ्नो र श्रीमतीको नाममा १।२५ प्रतिशत शेयर र अपर सोलुमा पनि ०।४८ प्रतिशत शेयर रहेको जनाएका छन् ।
इष्टमित्र र आफन्तजनबाट १ करोड २० लाख रुपैयाँ ऋण लिएको चापागाईंको विवरण छ । ऋण लिनुको प्रयोजन ‘घर बनाउन, जग्गा खरिद गर्न, शेयर खरिद गर्न र चुनाव लड्न’ रहेको उनले खुलाएका छन् । श्रीमती इन्दिरा कार्कीको नाममा एउटा स्कुटर २ लाखमा खरिद गरेको उनले जनाएका छन् ।
भक्ती प्रसाद सिटौला
उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तीप्रसाद सिटौलाले पनि आफ्नो सम्पत्ती विवरणमा झापा विर्तामोड ७ मा विभिन्न कित्तामा गरेर ३० कठ्ठा ५ धूर जग्गा रहेको उल्लेख गरेका छन् । सम्पूर्ण जग्गा पैतृक सम्पत्ती रहेको उनको विवरणमा उल्लेख छ ।
सम्पत्ती विवरणमा उनको ५० तोला सुन र ५ सय तोला चाँदी, ३० लाखको कार र २ लाख ५० हजारको होण्डा मोटरसाइकल रहेको उल्लेख गरेका छन् ।
निर्मला लिम्बु
स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पनि सम्पत्ती विवरण बुझाएकी छिन् । उनले ताप्लेजुङ फुङलिङ ६ र ललितपुरको सानो हात्तीवन जग्गामा घर रहेको उल्लेख गरेकी छिन् । यद्यपि घर र जग्गाको विवरण खुलाइएको छैन । यस्तै झापामा पनि जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ । उनको २२ तोला सुन रहेको र ३५ तोला चाँदी रहेको उल्लेख गरिएको छ । सुन चाँदी भने अलैंची व्यवसाय र उद्योग मार्फत भएको आम्दानीले खरिद गरेको उनले जनाएकी छिन् । आफ्नो नाममा एउटा स्कुटर रहेको पनि उनले देखाएकी छिन् । आफ्नो युमा कपडा उद्योग पनि रहेको उनको विवरणमा उल्लेख छ ।