इटहरीः बिहीबार साँझ ६.३० मा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हटलाइन नम्बर १०० मा कल आउँछ ।

प्रहरी कार्यालय हो ?
युवकः ‘मैले मेरो बुवा र आमालाई बन्चरोले हानेर मारे ! मलाई खोज्नु पर्दैन म प्रहरी कार्यालय आफै आउँदै छु’ ।
१०० नम्बरमा आफ्नै बुवा आमालाई मारे भनेर कल आएपछि ‘कन्ट्रोल रुम’ मा बस्ने प्रहरी चकित परे । लगतै जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी नवीन किशोर प्रधानलाई फोनको विषयमा जाहेर गरियो ।
डिएसपी प्रधानले अनुसन्धान अधिकृत प्रहरी निरीक्षक तेजबहादुर दाहाललाई कलको भेरिफाई गर्न निर्देशन दिए ।
फोन गर्ने व्यक्तिले घटनास्थलको ठेगाना समेत दिएका कारण प्रहरीलाई घटनाको वास्तविकता बुझ्न बढी समय लागेन । फोन आएको करिब ३० मिनेटमा प्रहरी चौकी सम्दुको प्रहरी टोली घटनास्थल पुग्छ ।
प्रहरीको टोलीले तेह्रथुम फेदाप गाउँपालिका–५ इसिबु ठेगाना रहेका रूपबहादुर लिम्बुको घरमा रूपबहादुर र उनकी श्रीमती रुपेनीको घर भित्र बीभत्स शव भेटाउँछ। रगतले लतपतिएका दुवैको शव नजिक लिम्बु परिवारका ६ महिने बालिका रोइरहेकी थिइन् ।
फोनमा भने अनुसार दुवैको टाउको, पेट र गर्दनमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा प्रयोग भएको बन्चरो घर नजिकको बारीमा प्रहरीले भेटाउँछ ।
यता प्रहरीले घटनास्थलमा ‘सिल’ गरेपछि फोन गर्ने व्यक्तिको खोजतलासमा प्रहरी जुट्छ । १०० मा कल गरेर प्रहरी कार्यालय आफै आउने भनेका व्यक्ति हत्या भएकै लिम्बु परिवारका छोरा भएको प्रहरीले पुष्टि गर्छ ।
नभन्दै घटनास्थलदेखि करिब डेढ किलोमिटर टाढा मृतकका १८ वर्षीय छोरा कञ्चन लिम्बु बाटोबाटै प्रहरी नियन्त्रणमा आउँछन् ।
ती युवकले प्रहरी देख्न साथ ‘फोन गरेर आमाबुवाको हत्या गर्ने मै हुँ हजुर’ भन्दै आत्मसमर्पण गर्छन् ।
यसरी १०० मा कल गर्ने ती युवक घटना घटेको डेढ घण्टा भित्रै प्रहरी नियन्त्रणमा आउँछन् । प्रहरीका अनुसार ती युवक रातारात हिँडेरै जिल्ला प्रहरी कार्यालय तेह्रथुम आउने तरखरमा थिए ।

95472331_3055155087881405_4376826920235433984_n
पारिवारिक कलह करण
आमाबुवाको हत्या गर्ने कञ्चन, लिम्बु परिवारको पहिलो पट्टिका सन्तान हुन् । आफ्नै आमा अर्कोसँग विवाह गरेपछि रूपबहादुरले दोस्रो श्रीमतीका रूपमा रुपेनीलाई दुईवर्ष अघि मात्र घर भित्राएका थिए ।
रुपेनी तर्फको ६ महिनाकी छोरी छिन् । फेदाप गाउँपालिका ५ का वडाध्यक्ष टेक बहादुर तामाङका अनुसार लिम्बु परिवारमा सौतेनी आमा भित्रिएपछि कञ्चन र आमाबुवा बिच धेरै पटक विवाद हुने गरेको बताउँछन् ।
गाउँ छिमेकले पनि धेरै पटक उनीहरूको विवाद मिलाएको उनले बताए । ‘७ कक्षा पढेर कञ्चन गाउँ घरमा ज्याला मजदुरी काम गर्थे, घरमा उनलाई सौतेनी आमाले राम्रो व्यवहार नगरेको भनेर साथी भाइलाई सुनाउँथ्यो’ तामाङ भन्छन् ‘सायद त्यही कारण हत्या भएको हुन सक्छ’ ।
हत्यापछि ६ महिनाकी छोरीलाई आफन्तको जिम्मा लगाएको वडाध्यक्ष तामाङले टेलिफोनमा जानकारी दिए । यता जिप्रका तेह्रथुमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक तेजबहादुर दाहालले पनि पारिवारिक कलहको कारण हत्या भएको बताए ।
प्रहरीको बयानमा पनि युवकले घरमा आमा बुवासँग धेरै पटक झैँ झगडा हुने गरेको बताएका छन् । हत्या गरिएका दुवै जनाको शव पोस्टमार्टम गरी शुक्रवार दाहसंस्कार गरिएको छ ।