विराटनगरः कोरोना संक्रमण भई कोशी अञ्चल अस्पताल विराटनगरको कोरोना बिषेश अस्पतालमा उपचार गराईरहेका भोजपुर हतुवागढी ६ का २६ बर्षीय उपेन्द्र राई र झापा बाह्रदर्शीका ४० बर्षीय महाजिर आलम आज डिस्चार्ज भएका छन् । रोग ठिक भएपछि उनिहरु डिस्चार्ज भएका हुन् ।
राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन ।
अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर बस्नेत लगायतले विदाई गरेका थिए ।
डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताउनुभयो । झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताए । डिस्चार्ज भएका दुबै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् ।
राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । उनले तत्काल परिवारको सम्पर्कमा नजाने बताए । उनले भने,‘मेरा कारणले अरुलाई समस्या नहोस् ।’ बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले बिदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिए । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन ।