विराटनगरः भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् ।
विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन ।
यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् ।
यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहानगरका एक एक जना छन् । यसैगरी सोटी समूहमा झापाको शिवसताक्षीका दुईजना, कन्काइका दुई जना, मोरङ सुन्दरहरैंचा र पथरीशनिश्चरेका एक एक जना रहेका छन् ।
युवा विराटनगर आएको खबर पाएसँगै उनीहरुलाई विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले खानापिनको व्यवस्था गरिएका छन् । नाका सिल भएको बेला ती युवा कसरी नेपाल प्रवेश गरे भन्ने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
जोगवनी हुँदै नेपाल छिर्न खोज्ने ६० जना भन्दा बढी रहेको र उनीहरु भारतको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरुले १५ दिनसम्म हिंडेर अनि कतिपय ढुवानीका साधनमा बसेर नेपाल सीमामा आएको बताएका छन् ।
सीमाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् ।