इटहरीः इनरुवा क्रियाशिल संचारकर्मी राजेन्द्र पोख्रेलले सुनसरीका भारतीय सीमाक्षेत्रबाट लुकीछिपी मानिसहरु नेपाल प्रवेश गरिरहेको बिषयमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासन प्रमुख, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुलाई खुल्ला सुझाव पत्र लेखेका छन् । उनले लेखेको सुझाव पत्र यहाँ जस्ताको त्यस्तै राखिएको छः 

सुनसरीका नेकपा र नेपाली काग्रेसका जिल्ला नेतृत्व, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख,उपमहानगरपालिकाका मेयर, उपमेयर, नगरपालिकाका मेयर उपमेयर र गाँउपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रहरी प्रशासनका प्रमुखहरु लगायतका सवै सरोकारवालाहरुलाई खुल्ला सुझाव यो छ कि, लकडाउनमा राहत मात्र बाडने होईन अब सुनसरीमा सम्भावित सक्रमणलाई रोक्नका लागी सर्वपक्षिय भेलाबाट ठोस निर्णय गरि मुख्य गरि सिमाक्षेत्रलाई सिल गर्न पहिला ध्यान दिऔ । सिमाको कडा निगरानी गर्न सुनसरीको भाण्टावारीदेखि अमडुवासम्मको ६५ किलोमिटर नेपाल भारत सिमाक्षेत्रमा म्यादी प्रहरी भर्ना गरेर परिचालन गरौ । भारतबाट आउनेलाई तिनपुस्ते विवरणसहितको स्थायी ठेगाना अभिलेख गरि सिमाक्षेत्रमा रहेका सामुदायिक र निजी विद्यालयमा होल्डिङ सेन्टर स्थापना गरि राखौ ।
आवश्यक स्वास्थ्य परिक्षण गरेर समबन्धीत स्थानिय तहको क्वारेन्टाईनमा पठाऔ । यो काममा ढिलाई नगरौ । राती राती मकैवारीबाट लुकिछिपी घर आउनेहरु न्युन चेतनास्तर भएका भारतमा जनमजदुरी गर्ने अतिगरिव विपन्न वर्गका मानिसहरु भएकाले लुकिछिपी घरमा आएर बस्ने सम्भावना धेरै देखियो । यस कार्यका लागी धरान, इटहरी उपमहामनगर, इनरुवा, दुहवी, रामधुनी, बराहक्षेत्र नगरपालिका र कोशी, भोक्राहा नरसिह, हरिनगर, देवानगञ्ज,गढी र बर्जु गाँउपालिकाले आवश्यक निती बनाउनु परयो ।
संयुक्त बैठक बसेर अबिलम्व निर्णय गर्ने जरुरी छ । त्यसपछि हवाज जहाज नचलेसम्म लकडाउन जिल्ला भित्र खुकुलो बनाउदा हुन्छ । नत्र आउने क्रम रोकिदैन । परिक्षण गर्ने काम भएको छैन । सिमाक्षेत्रमा परिचालित सशस्त्र प्रहरी वलले मात्र नाका थुनेर सक्ने अवश्था देखिएन । सिमाक्षेत्रका स्थानियहरुले दैनिक सयौको सख्याँमा राती राती बाँसघारी र मकैवारीबाट मानिसहरुको आवतजावतले समस्या भएको बताईरहेका छन । समयमा सवैको चेत खुलेमा माहामारीको सक्रमण धेरै फैलिन पाउदैन ।