इटहरीः इटहरी १२ खनार स्थायी घरभई विराटनगरमा औषधी व्यवसाय गर्दै आएका देवीप्रसाद दुलाललाई निर्मम हत्याको योजना बनाएकी निर्दयी श्रीमति मीना श्रेष्ठ दुलालले करिब एक महिना अगाडी आफ्नो फेसबुकमा ‘ह्याप्पी बर्थडे टु माई हाट’ भनेर जन्मदिनको शुभकामना दिएको खुल्न आएको छ ।
१० बर्षअघि प्रेम विवाह गरेकी उनले आफ्नो दोस्रो प्रेमीसंग डेढ महिनाअघिबाट श्रीमान् देवीप्रसाद दुलालको हत्या योजना बनाएकी उनले त्यही बिचमा देवीको जन्मदिनका दिन त्यस्तो स्टाटस हालेर नाटक गरेको पाइएको हो ।
बैसाख १० गते अर्थात अप्रिल २२ तारिख निर्दयी श्रीमति मीनाले आफ्नो फेसबुकमा देवीको रातो रंगको कार नजिक उभिएको ,घुम्न जाँदा खिचिएको उनको सिंगल अर्को फोटो, उनिहरु दुवै जना जोडिएर खिचेको फोटो , दुई वटा रातो गुलाब भएको फोटो र लभको संकेत दिने पानको पात आकारको अर्को फोटो राखेर ‘ह्याप्पी बर्थडे टु माई हाट’ लेखेर पोष्ट गरेको पाइएको छ । उनले दिउँसो ४ बजेर ५० मिनेटमा फेसबुकमा त्यस्तो स्टाटस पोष्ट गरेकी थिइन् ।
उनले त्यस्तो स्टाटस लेखेको १३ दिन अर्थात बैशाख २३ गते अर्थात मे ५ तारिख देवीप्रसाद दुलालले श्रीमतिबाट डराउनु पर्ने भन्दै फेसबुकमै स्टाटस लेखेर पोष्ट गरेका थिए । उनले पनि दिउँसो ४ बजेर २४ मिनेटमा फेसबुकमा सो स्टाटस पोष्ट गरेको पाइएको छ । दुलालले आफ्नो फेसबुकमा ‘कोरोनासंग लड्ने हो, डराउने होइन, श्रीमतिसंग डराउने हो लड्ने होइन । किनभने अहिलेसम्म दुईवटाकै औषधी आएको छैन् । जनहितमा जारी सन्देश’ भन्ने स्टाटस पोष्ट गरेका थिए ।
मीनाले आफ्नो मुटु मानेको श्रीमान्लाई त्यसरी जन्मदिनका दिन ‘ह्याप्पी बर्थडे टु माई हाट’ उइस गरेको २५ दिन र श्रीमान् देवीप्रसादले श्रीमतिसंग डराउनु पर्ने सन्देश सहितको स्टाटस फेसबुकमा पोष्ट गरेको १२ दिनपछि दोस्रो प्रेमी ब्रम्मदेव साहलाई रातको समयमा घरमै बोलाएर निर्मम तरिकाले श्रीमान् देवीप्रसादको हत्या गरेकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मीनाले करिब डेढ महिनाअघिबाट श्रीमान् देवीप्रसादको हत्या योजना बुनेको खुलेको छ । त्यही बीचमा देवीप्रसादको जन्मदिनका दिन यस्तो स्टाटस हाल्नु मीनाको केबल नाटक मात्र भएको घटनाले पुष्टि गरेको देवीका भाई आशिष दुलालले बताए ।
श्रीमान्लाई आफ्नो मुटु मान्नेले योजनाबद्ध तरिकाले कसरी हत्या गर्न सक्छ ? मीनाले योजना अनुसार नै पछि समस्या पर्न सक्छ भन्ने हिसाबले प्रमाण देखाउन नाटक गरी जन्मदिनका दिन उइस गरेझै मात्र गरेको दुलालको भनाई छ ।
आफ्नै औषधीको होलसेल पसलमा ४ बर्षसम्म संगै काम गरेको साहसंग अन्धोप्रेममा परेकी मीनाले पूर्व योजना अनुसार जेष्ठ ४ गते मदिराले मातेका बेला प्लाष्टिकको डोरीले घाँटी थिचेर हत्या गरेकी थिइन् । ब्रम्महदेव र मीनाले प्रयोग गरेको डोरी चुँडिदासम्म मन पग्लिन नसकेकी मीनाले कपडाले मुख थुनेर हत्या गर्न ब्रम्महदेवलाई सहयोग गरेकी थिइन् । श्रीमान् मदिरा लागेर निदाएपछि ब्रम्मदेवलाई रातको समयमा घर बोलाएकी मीनाले नै ढोका खोलिदिएकी थिइन् । रातको ११ बजेभित्रमा श्रीमान् देवीप्रसादको हत्या गरिसकेकी मीना ब्रम्महदेवसंगै सो रात २ बजेसम्म हत्या गरिएको कोठामै बसेकी थिइन् । हत्यामा संलग्न ब्रम्महदेव र उनका भाई सोनुलाई कोठाबाट पठाएपछि साँझ श्रीमान् देवीप्रसाद संगै मदिरा र खाजा खाएका व्यवसायी साथीहरु मध्ये एकलाई नाटकिय शैलीमा मीनाले फोन गरि देवीप्रसाद गम्भिर बिरामी परेको भन्दै छिट्टो एम्बुलेन्स लिएर आउन भनेकी थिइन् ।