इटहरीः कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्धेश्यले नेपाल–भारत सीमा बन्द गरिए पनि भारतबाट लुकीछिपी नेपालतर्फ आउने क्रम नरोकिएपछि त्यस्ता गतिविधि रोक्न मोरङ्गको दक्षिणी सीमावर्ती तीनवटा नगरपालिकाले म्याद प्रहरी सीमा क्षेत्रमा खटाउने भएको छ ।
त्यसका लागि म्याद प्रहरी भर्ना गर्न सूचना समेत प्रकाशित गरिएको छ । रतुमाई, रंगेली र सुनबर्षी नगरपालिकाको जेष्ठ २ गते बसेको संयुक्त बैंठकमा सो बारे छलफल भएको थियो । जेष्ठ ५ गतेको बैंठकले यस्तो निर्णय गरेको हो । म्याद प्रहरी भर्नाका लागि रतुवामाई नगरपालिकाले आज(मंगलबार) सूचना नै जारी गरेको छ ।
रतुवामाईले प्रकाशित गरेको सूचना अनुसार ३ महिनाका लागि एक नगरपालिका बराबर २३ जनाको दरले म्याद प्रहरी भर्ना गरि सीमा क्षेत्रमा लुकीछिपी नेपाल भित्रनेहरुलाई रोक्न खटाईने छ । ७ दिन भित्र आवश्यक कागजात सहित नगरपालिकाले कार्यालयमा सम्पर्क राख्न समेत भनेको छ ।
रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईका अनुसार भर्ना हुने म्याद प्रहरीलाई मासिक १५ हजार तलब, रासन भत्ता मासिक ५ हजार, पोशाक वापत २ हजार र एक बर्षका लागि ५ लाखको बीमा समेतको सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ ।