इटहरीः नेपाल र भारतका विभिन्न जिल्लाको प्रहरीको ‘वान्टेड’ सूचिमा रहेका अपराधी सुनसरीबाट पक्राउ परेका छन् । उनलाई मङ्गलवार साँझ सुनसरीको भोक्राहबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले हतियार सहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा सप्तरी कंकालिनी नगरपालिका १४ का ३६ बर्षीया ’कृश’ नामबाट चिनिने कृष्ण कुमार यादव हुन । उनलाई भारतीय नम्बर प्लेट बिआर ५० पी १२४१ को स्कारपियो सहित प्रहरीले पक्राउ गरेको थियो ।
उनको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरिएको छ । यस्तै उनको गाडीबाट लागु औषध समेत बरामद भएको छ ।
यादव सप्तरी र सुनसरी प्रहरीको वान्टेड सूचिका अपराधी हुन् । यस्तै उनी भारतको विहार राज्यको सुपौल जिल्लाको प्रहरीको पनि वान्डेट अपराधी भएको बताइएको छ ।
भारतको सुपौल जिल्लामा अघिल्लो मार्चमा १२ जनाको हत्याको केशमा यादवको पनि संलग्नता देखिएपछि उनलाई भारतीय प्रहरीले खोजी गरिरहेको थियो । उनको भारतमा अन्य केही अपराधीक केश चलिरहेको बताइएको छ । विहारकै कुनै एक जिल्लामा ‘जेलब्रेक’ गरी भागेका केही भारतीय अपराधीलाई यादवले नेपालमा संरक्षण दिएको भारतीय प्रहरीको आरोप छ ।
२०६३ को मधेस आन्दोलनको समयमा सुनसरी र सप्तरीको तीन वटा मर्डर केशमा यादवको संलग्नता भएको प्रहरीको रेकर्ड छ । दुई जिल्लामा हत्या गरी भेटिएका बिभिन्न व्यक्तिको शवको अनुसन्धान गर्दा यादवको कनेक्सन रहेको प्रहरीको रेकर्डमा उल्लेख छ । जसमा केही भारतीय नागरिकको पनि हत्या भएको थियो ।
उनीमाथि हातहतियार, लागुऔषध कारोबारी, अपहरण तथा फिरौती जस्ता जघन्य अपराधको ‘योजनाकार’ समेत भएको प्रहरी ठम्याई छ । स्रोतका अनुसार यादवले भारतीय सीमासँग जोडिएका सुनसरी र सप्तरी जिल्लाका प्रशासन लेवलका मान्छेहरूलाई सीमामा हुने तस्करी र बिभिन्न ठेक्कापट्टाको ‘सेटिङ’ मिलाउने गर्दथे ।
उनको आपराधिक पृष्ठिभुमी हेर्दा मधेस आन्दोलन अघि यादव मधेस मुक्ति टाइर्गसका सुनसरी इज्र्चाज हुन् । उनले त्यस समय पैसाको लागि अपहरण गरी फिरौती उठाउने गर्दथे । फिरौती नदिएको अवस्थामा यादव समूहले गोली हानी हत्या गरेको भन्दै सुनसरी र सप्तरी प्रहरीमा त्यस समय केही मुद्दा दर्ता भएको प्रहरी बताउँछ ।
मङ्गलवार हतियार सहित पक्राउ परेका यादवले नेपालमा कसैबाट फिरौती उठाउने योजना बनाउँदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापा बताउँछन् ।
‘यादवको क्राईम रेकर्डको फेहरिस्ता निकै लामो छ’ उनले भने ‘पछिल्लो समय उनी ठेकेदारको परिचयमा कसैबाट फिरौती उठाउने योजनामा थिए, तर उनी असफल भए’ । यादवको विषयमा भारतीय प्रहरीसँगको समेत समन्वयमा थप अनुसन्धान हुने थापाले बताए । यादव पक्राउ परेसँगै उनिबाट पीडित भएका केही व्यक्ति सम्पर्कमा आएको एसपी थापाले जानकारी दिए । ’यादवमाथि लागेका आरोपको प्रमाणहरू अध्यान गरिरहेका छौ’ थापाले भने ।
कोसी प्रोजेक्टमा हलचल
दुई देशको वान्टेड सूचिमा रहेका यादव दुई महिना यता कोसी नदीको तटबन्ध बनाउने कामको ठेकेदारको रूपमा सुनसरीमा देखिएका हुन् । भारतीय सरकारले लगाउने ठेक्कामा प्राय कोसी तटबन्धको काम भारतीय कम्पनिलेनै गर्ने गर्छ । तर यादव पछिल्लो दुई महिनादेखि ठेकेदारको रूपमा आएपछि कोसी प्रोजेक्टमा काम गर्नेहरूमा हलचल छाएको स्रोत बताउँछ ।
अरबौँ रकमको ठेक्का चल्ने कोसी क्षेत्रमा रहेका केही ठेकेदारलाई उनले ज्यान मार्ने धम्की दिएको बताइएको छ । भारतीय बजेट भए पनि काम भने नेपाली भूभागमा हुने कोसी नदीमा यादवले आफ्नो प्रभाव जमाउनकै लागी केही ठेकेदार र नेपाली जनप्रतिनिधिलाई धम्की दिएको स्रोत बताउँछ । प्रहरीको नजरबाट बच्न यादव प्राय सीमा क्षेत्रको लेकेशनमा बस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
पक्राउ लगतै छुटेका थिए यादव
सुनसरीका तत्कालीन एसपी यज्ञबिनोद पोखरेलको पालामा पनि यादव पक्राउ परेका थिए । तर उनलाई पक्राउ परेको भोलि पल्टै छाडिएको थियो । डेढ महिना अघि यादवलाई के केशमा पक्राउ गरिएको थियो र छाडियो भन्ने विषयमा प्रहरीले कुनै कुरा खुलाउन मानेको छैन ।
यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा नेतृत्वको टोलीले सुनसरीको कुनै शङ्कास्पद ठाउँबाट पक्राउ गरेका थिए । तर उनी भोलि पल्टै छाडिए । उनी छाडिएको विषयमा सुनसरीका केही जनप्रतिनिधिले तत्कालीन एसपी पोखरेललाई गुनासो समेत गरेका थिए । वान्टेड सूचिमा रहेका यादव पक्राउ परेको भोलि पल्ट छाडिनुले त्यस समय जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमाथि शङ्का गरिएको थियो ।