इटहरीः इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसको स्वामित्वमा रहेका जग्गामा किरात राई यायोक्खा तथा सुम्निमा संघले साकेला स्थल बनाएपछि यस बिषयमा तरङ्ग उत्पन्न भएको छ ।

देशको यस्तो विषम परिस्थितिमा यो कार्य ? त्यस माथि क्याम्पस प्रशासनसगँ कुनै समन्वय नै कसरी जग्गा कब्जा गरियो ? अहिले यो प्रश्न क्याम्पसमा आबद्ध सरोकारवाला ब्यक्ति, निकायको मुख्य बिषय नै बनेको छ । जनता क्याम्पसले अहिलेसम्म संरक्षणं, हेरचाह गर्दै आएको क्याम्पस परिसरको जग्गामा रहेको सानो नर्सरीको एक छेउमा किरात राई यायोक्खाले आफूले मान्दै आएको पर्व साकेला उभौली र साकेला उधौली मनाउने स्थल बनाइएको जनाउ दिइएको बोर्ड समेत राखिएपछि यस बिषयले चर्चा पाएको छ ।
किरात राईहरुले लामो समय देखि मान्दै आएको पर्वमा गरिने पुजा स्थल यस अघि इटहरी वडा नम्बर ५ स्थित काब्यबाटिकाको एक स्थानमा रहेको थियो । यस ठाउँमा प्रदेश सरकार र स्थानीयको लगानीमा फन पार्क बनाउने निणर्य भएपछि त्यस ठाउँका भौतिक संरचना अन्य ठाउँमा स्थानान्तरण गर्नु भन्दै आदेश दिएकाले क्याम्पसको परिसरमा राखिएको किरात राई यायोक्खा तथा सुम्निमा संघ इटहरी ५÷७ का सचिव जेवि राई बताउँछन् । राईले भने–‘हामीले वडा कार्यालय सगँ कुराकानी गरेपछि वडा अध्यक्ष कल्याण बहादुर कार्कीको पहलमा इटहरी उपमहानगरपालिका प्रमुख द्धारीकलाल चौधरीको आदेशमा त्यस स्थानमा राखिएको हाे।’ वडा नम्बर ५ का अध्यक्ष कल्याणबहादुर कार्कीले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको आदेशमा आफुले क्याम्पसको स्वामित्वमा रहेको सो जग्गामा सुम्निामा संघलाई साकेला स्थान(थान) बनाउनका लागि खिलित रुपमा अनुमति दिएकाले आफ्नो कुनै कमजोरी नभएको बताए । 

sakela 2
सचिव राईले भने–‘इटहरी उपमहानगरपालिका प्रमुखलाई हामीले गुनासो राख्यौं उहाँले केही पहल गर्ने आस्वासन दिनु भएको थियो । निकै लामो समय भएपछि उहाँले वडा अध्यक्षलाई भन्नु भएछ । त्यस पछि हामीले मेयर चौधरी र वडाअध्यक्षको स्वीकृतमा यस स्थानमा राखेका छौं । तर क्याम्पस प्रशासनसगं भने कुनै सल्लाह गरेका छैनौं ।’
क्याम्पस पुर्व अध्यक्ष विश्व रिजाल यसो भन्छन्
तत्कालिन पञ्चायती ब्यबस्थामा वडा अध्यक्ष हरिप्रसाद रिजालले सो स्थानमा पंचायती नर्सरी राख्नु भएको थियो । २०४५ सालमा जनता क्याम्पस स्थापना भएपछि वडा अध्यक्ष रिजाल सहित अन्य स्थानीयले क्याम्पसको स्तरउन्नतिका लागि उक्त जग्गा क्याम्पसको स्वामित्व हुने गरि प्रदान गर्नुभएको थियो । रिजालले स्थानीयलाई समेत त्यस क्षेत्रमा पर्ने जग्गा कसैले एक बिघा, कसैले दश कठ्ठा, कसैले एक कठ्ठा क्याम्पसलाई सहयोग गरी अहिलेको क्याम्पस परिसर, खेल मैदान क्याम्पसको नाममा करिब तिन बिघा दश कठ्ठा र नर्सरी करिब ३ बिघा साढै नौं धुर जग्गा रहेको क्याम्पसलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसको केही समय पछि जुन स्थापना गरिएको साकेला स्थान केही भागको अर्कै वनजङ्गल समिति गठन भएको थियो । त्यस समितिले करिब ५४ साल तिर उक्त नर्सरी क्याम्पसलाई प्रदान गरी क्याम्पसको नाममा धनीपुर्जा नभएपनि पुर्ण रुपमा क्याम्पसको स्वामित्वमा रहने भनि परिषदबाट पारित गरी क्याम्पसले भोगचलन गर्दै आएको थियो ।

तत्कालिन क्याम्पस अध्यक्ष रमेश श्रेष्ठको एक टोलीले लिखित निर्णय नै गरी क्याम्पसको जग्गा हो जुन जग्गाको नक्सामा प्रति भनि प्रमाणित गरेको थियो । त्यस लगत्तै इटहरीका रामकुमार सुब्बा भुमिसुधार मन्त्री हुदाँ क्याम्पसको नाममा धनीपुर्जा बनाउने काम अगाडी बढेको थियो । तर सो काम पुरा हुन नपाउँदै सरकार ढलेको थियो । जनता क्याम्पस प्रदेश एकको सर्टिफाइट क्याम्पस मध्येमा दोश्रो हो । क्याम्पस वरिपरि अझै धेरै भौतिक संरचनाहरु निर्माण गर्नु पर्छ ।

५ हजार बिद्यार्थी अध्ययन गर्ने क्याम्पसमा धेरै पहाडी जिल्लाबाट आउने भएकाले उनीहरुको कोठाभाडामा समेत समस्या रहेको छ । अब तत्कालै महिला छात्राबास र पुरुष छात्राबास बनाउने पर्ने स्थिती छ । केही बर्ष पछि विश्वबिद्यालय पनि बन्ने अवधारणा रहेकाले अझै जग्गा अपुग हुन्छ । त्यसकारणले अन्य कुनै संघसंस्थालाई जग्गा दिनु गलत रहेको हो । जग्गा के कति कारण कसरी दिईयो । र किन दिईयो । अन्य स्थानमा पनि त जग्गा थिए । त्यही नै दिनुपर्छ भन्ने केही थिइन् । जग्गा दिनुमा केही न केही रहस्य र चलखेल भएको हुन सक्छ । लकडाउनको मौकामा यसरी क्याम्पससंग कुनै छलफल नै नगरि जग्गामा बोर्ड राख्नु , घेराबारा गर्नु जबरजस्ती कब्जा गरे जस्तै हो । यो जग्गा प्रदान गर्ने निर्णय र सहमति दिनेहरुले जवाफ तत्काल दिनुपर्छ । वहाँहरुलाई अन्य स्थानमै जग्गा प्रदान गर्नुपर्छ । अन्यथा यसखालका कार्य कसैलाई मान्य हुने छैन ।

sakela 1
इटहरीका मेयर र वडाअध्यक्षको ठाडो आदेश
किरात राई धेरै लामा समय देखि भुमिपुजा तथा उनीहरुको चाडपर्व इटहरी ५ स्थित काब्यबाटिकामा गर्दै आएका थिए । तर त्यस ठाउँमा प्रदश सरकार र स्थानीय सरकारको पहलमा फन पार्क बन्ने भएपछि त्यहाँबाट थान अन्त सार्न किरात राईहरुलाई भनिएको थियो । सो स्थानमा पार्क बनाउन प्रदेश सांसद सर्वध्वज साँवा पनि कम्मर कसेर लागेका छन् । त्यस लगतै वडा अध्यक्ष कल्याण बहादुर कार्कीलाई उनीहरुले जग्गा उपलब्ध गराईदिन माग राखेका थिए । वडा अध्यक्ष कार्कीले इटहरीका मेयर द्धारिकलाल चौधरीलाई जानकारी गराए पछि मेयर चौधरीले जनता क्याम्पसको जग्गामा राख्नु भनेर ठाडो आदेश दिएपछि वडा कार्यालयले पत्र नै लेखेर स्थायी रुपमै त्यहीँ स्थानमा राख्नु भनेपछि किरातराई यायोक्खाले अहिले सो जग्गामा थान राखेको किरात राई यायोक्खा तथा सुम्निामा संघ इटहरी वडा नं। ५÷७ की अध्यक्ष बच्चु माया राईले बताइन् । उनले भनिन् –‘हामीले वडा अध्यक्ष र इटहरी सरकार प्रमुखसंग समन्वय गरकै हौं । वहाँहरुले सोही स्थानमा थान स्थापना गर्न स्वीकृत दिएकाले त्यहाँ राखेका हौं । हामी आफैले जवरजस्ती राखेका होइनौं । वडा अध्यक्षले लिखित रुपमा अनुमति प्रदान गरेको पत्रलाई आधिकाररिक मान्ने कि नमान्ने ? पत्रका आधारमै हामीले थान स्थापना गरि घेराबारा गरेका हौ । फेरी त्यहाँ भएको सबै जग्गामा हामीले थान राखेका पनि होइनौ ।’
क्याम्पस प्रमुख यसो भन्छन्
जनता बहुमुखी क्याम्पसका प्रमुख भोजराज श्रेष्ठले प्रशासनलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए । क्याम्पसले भोक, चलन, संरक्षण गर्दै आएको जग्गामा वडा र मेयरको आदेशका संघसंस्था राख्नु प्रशासनको आपत्ति रहेको उनको भनाई छ । उनले भने–‘ देशको यस्तो बिषम परिस्थीतीमा क्याम्पस प्रशासनका कुनै पनि सदस्यलाई जानकारी नदिई त्यस्तो कार्य गर्नु दुःखद हो । आज राईले साकेला थान बनायो, भोलि मगर, लिम्बु,क्षेत्री,बाहुन लगायत अन्य जातिले पुजा स्थल बनाउन जग्गा माग्लान् सबैलाई दिने त ?’ कुनैे जातिय संघसंस्थालाई क्याम्पसको जग्गा दिन नहुने उनले बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भण्डारी भन्छन्ः मैले नि सामाजिक सञ्जालबाट जानकारी पाए
जनता क्याम्पस संञ्चालक समितिका वर्तमान अध्यक्ष रेवतीरमण भण्डारीले आफूलाई आधिकारिक रुपमा जानकारी नभएको तर सामाजिक सञ्जालमा आएपछि थाहा पाएको बताए । त्यसपछि सो नर्सरी र साकेलाको बिषयमा तीन सदस्य छानबिन समिति निमार्ण गरिसकेको उनले बताए । उनले अबको केही दिनमा उक्त समितिले निचोड निकाल्ने जानकारी दिए । क्याम्पस स्रोतका अनुसार सो स्थानमा थान राख्नका लागि स्वीकृत दिने बिषयमा भण्डारीसंग पनि कुराकानी भएको र उनले पनि भित्री रुपमा सर्मथन गरेका थिए । अहिले क्याम्पस व्यवस्थापन समितिका अन्य जिम्मेवार व्यक्तिबाट, प्रशासन, क्याम्पसमा अध्यापन गराउँदै आएका प्राध्यापक र विद्यार्थीहरुबाट चर्को आलोचनाका साथै दवाव आएपछि उनि छानविन समिति बनाउन बाध्य भएको स्रोतको दावी छ ।

sakela 3
विद्यार्थी नेता आक्रोशित
जनता क्याम्पसको स्वामित्वमा रहेको जग्गामा लकडाउनको मौकामा सुम्निमा संघले पुजा गर्नका लागि थान निर्माण गरेको बिषयमा विद्यार्थी नेताहरुले आक्रोश पोखेका छन् । जनता बहुमुखी क्याम्पस तत्कालीन अनेरास्ववियु क्याम्पस कमिटिका सचिव उज्वल सिग्देलले क्याम्पसको अधिकारमा रहेको जग्गा कुनै पनि हालतमा अन्य संघसंस्था, धार्मिक स्थल बनाउन दिन नहुने बताए । जग्गा अरुलाई दिइएको हो भने त्यसका विरुद्ध कडा प्रतिबादमा उत्रिने उनि बताउँछन् ।

नेपाल किरांत राई बिद्यार्थी संघ क्याम्पस कमिटि अध्यक्ष चन्द्र किराँतीले क्याम्पसले भोकचलन गर्दै आएको जग्गाको बिषय वडा संग समन्वय गरी आफ्नो जग्गा पुर्ण अधिकारमा राखी क्याम्पस आफैंले दिने नदिने प्रष्ट रुपमा जानाकारी गराउनु पर्ने बताए । नेपाल बिद्यार्थी संघ क्याम्पस कमिटि अध्यक्ष सहदेव काफ्लेले लकडाउनको बेला क्याम्पसलाई नै क्वारेन्टाइन बनाइएको छ । यस्तो अबस्थामा कुनै सघंसस्था लगायतले वडाको आडमा संरचना बनाउनु गलत भएको बताए । उनले भने –‘हामीले ३ दिन सम्मलाई यस विषयको अल्टिमेटम दिएका छौं । केही निचोड ननिस्किए अर्को चदम चाल्न बिद्यार्थी संघसंङ्गठन बाध्य हुने छ ।’
उपमेयर भन्छिन्ः उपमहानगरलाई थाहै छैन
इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको निर्देशनमा वडा नम्बर ५ का वडाअध्यक्ष कल्याणकुमार कार्की जनता क्याम्पसको भोगचलनमा रहेको सो जग्गामा थान बनाउन सुम्निमा संघलाई दिएको व्यापक हुँदा पनि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले सो बिषयमा आफुलाई कुनै जानकारी नभएको बताइन् । हाल उनकै सक्रियतामा सो क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको छ । सो क्वारेन्टाइनमा सयौं पटक आउ जाउ गरेकी उनले उनि हिड्ने बाटो अगाडीकै क्याम्पसको जग्गामा सुम्निमा संघले ठूलो बोर्ड नै राखेर जग्गा कब्जा गरेको बिषय जानकारीमा नै छैन भन्नुले नगरपालिकाको भूमिका प्रति शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । उनले आफुलाई मात्र नभई इटहरी उपमहानगरलाई नै यस बिषयमा कुनै खालको आधिकारिक जानकारी नै नभएको बताइन् । उनले के भएको हो, बुझ्न काम चाँही आफुबाट हुने बताइन् ।