इटहरीः निरन्तरको लकडाउनका कारण घरमा खाने चामल, दाल, तेल र नून सकिएको थियो । कमाउने छोरा घर आएपछि पैसा मागेर सबै कुराको जोहो गर्ने योजनामा थिए , विराटनगर १४ निवासी  बुबा सत्यराम चौहान । योगजनाकै बीचमा गत शनिवार रोहित चौहान (जेठो छोरा) कामबाट घर फर्किए। त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरमा आइपुगे ।५५ वर्षीय बुवा सत्यराम चौहानले घरमा चामल तेल सकिएको भन्दै किन्नका लागि आफुसंग एक रुपियाँ नभएको भन्दै रोहितसँग केही रकम मागे । तर रोहितले आइतबार मात्र काम गरेर कमाएको पैसाले कपडा र जुत्ता किनेकाले आफुसैंग पैसा नै नभएको जवाफ फर्काए ।
छोरा रोहितको जवाफ फर्कापछि सत्यनाराण र उनी बीच विवाद सुरु भयो । बुबा सत्यरामले लुगा र जुत्ता भन्दापनि खानेकुरालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । त्यतीकैमा विवादले उग्र रूप लिएपछि रक्सीको नसामा रहेका रोहितले सिधै खाट छेउमा रहेको फरुवाले बुवाको टाउकोमा प्रहार गरे । ५५ बर्षीय बुबा सत्यराम ठाँउको ठाँउ ढले ।
बाबुको मृत्यु नै भएपछि घटनाका बारेमा बाहिर कोही कसैले थाहा नपाउन् भनेर घर भित्रै गाड्ने सल्लाह दाजु–भाईले गरे । पछि माइलो छोरा नागेन्द्र समेत मिलि सोही फरुवाले कोठा भित्रै करिब दुई फिट गहिरो खाडल खनेर बुवालाई पुरिदिए । दुवैले बुवाको शवलाई तन्नाले बेरेर गाडेका थिए ।


छोराहरूले सत्यरामको हत्या राति गरे पनि शव भने आइतबार बिहान उज्यालो भएपछि मात्रै गाडेको पाइएको प्रहरीले जनाएको छ। त्यसबिचमा शवलाई कसरी व्यवस्थापन गरेर घटनालाई लुकाउन सकिन्छ भन्ने सल्लाह दाजु–भाईबीचमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार आफ्नो डेरामा आइरहने ससुरा सत्यराम धेरै दिनदेखि नआएपछि बुहारी (नागेन्द्रकी श्रीमती) जेठाजु रोहित र ससुरा बस्ने घरमा बुधवार पुगेकी थिइन्। ससुरा र जेठाजुलाई नदेखेकी उनले घर भित्र खनेको देखेपछि त्यो कुरा श्रीमान् नागेन्द्रलाई सुनाइन्। त्यसपछि घरका झ्याल ढोका सबै खुल्ला राखेर बुवा र दाजु बेपत्ता भएको भन्दै नागेन्द्र आफै प्रहरी कार्यालयमा पुगेका थिए।
घटना भएको ४ दिनपछि बुधवार माइला छोरा नगेन्द्र आफै इलाका प्रहरी कार्यालय रानी पुगेर बुवा बेपत्ता भएको भनेर प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीलाई उनले घर भित्र खाल्डो समेत भेटिएको जानकारी दिएका थिए । तर प्रहरी अगाडी थाहा न पाएको झैँ गर्ने नगेन्द्र आफै बुवाको हत्यामा संलग्न भएको प्रहरी अनुसन्धानले देखाउँछ ।
घटना शनिवार राति ८.३० बजेतिर भएको प्रहरीले बताएको छ । सत्यराम तीन छोरामध्ये जेठो रोहितसँग आफ्नै घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। प्रहरीकाअनुसार तीन वर्षदेखि बेपत्ता रहेका कान्छो छोरो सोमकुमार परिवारको सम्पर्कमा छैनन्। जेठो र माइलो दुवै छोरा ज्याला मजदुरी गर्छन्। बाबुको हत्यामा संलग्न दाजु–भाइ विरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाइने छ ।