ताप्लेजुङः ताप्लेजुङमा झगडा मिलाएर फर्कने क्रममा स्थानीयको भीरमौरीको मह खाएका प्रहरी सहायक निरीक्षक( असई ) को बाटोमै मृत्यु भएको छ । सिरिजंघा गाउँपालिका ६ खेवाङस्थित प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई बालकुमार राई गस्तीबाट फर्किने क्रममा बेहोस भई तत्कालै मृत्यु भएको हो ।
सिरिजंघा गाउँपालिका– ५ शुरुम्बखिममा स्थानीयको झगडा मिलाउन गएका उनी फर्किंदै गर्दा याम्फुदिनमा बेहोस भएको ताप्लेजुङका डीएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनले स्थानीयकोमा भीरमौरीको मह खाएको खुलेको भएपनि मृत्युको कारण भने यही हो भन्न सक्ने अवस्था तत्काल नरहेको डीएसपी श्रेष्ठले बताए ।
उनले असई राईले बेहोस हुनु अघि आफूलाई हिँड्न र स्वास फेर्न गाह्रो भएको भन्दै स्थानीयलाई भनेको जानकारी आएको बताए । घटना स्थल तर्फ जिल्ला प्रहरी कार्यालयबाट डीएसपी श्रेष्ठसहितको टोली प्रस्थान गरिसकेको छ ।