इटहरीः एक आठ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा संघीय समाजवादी पार्टीको भातृ संस्था समाजवादी युवा संघको प्रदेश १ संयोजक धरान–१५ का श्री सुब्बालाई बिहिबार साँझ पक्राउ गरेको छ ।
उनिका विरुद्ध बालिका बलात्कार गरेको किटानी जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले उनको खोजी गरिरहेको थियो । गोप्य सूचानका आधारमा धरानमै लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
सुब्बाले ८ बर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको भन्दै बालिकाका आफन्तले तीन दिनअघि किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार ती बालिकाको स्वास्थ्य चाँज गरिसकिएको छ । सुब्बाले पटकपटक बलात्कार गर्दै आए पनि बालिकाकी आमाले जाहेरी दिनुभन्दा अघिल्लो दिन थाहा पाएकी थिइन् । जाहेरी दिएपछि प्रहरीले तीन दिन अघि नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराएको थियो । बालिका अहिले आफन्तको साथमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि सुब्बा विभिन्न ठाउँमा लुक्दै आएका थिए । प्रहरीले व्यापक खोजी गरेपनि आज मात्रै पक्राउ गर्न सफल भएको होे । सुब्बाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुनको मुद्दामा आफूलाई फसाउन प्रहरी प्रशासन लागेको’ आशयको स्टाटस पोष्ट गरेका थिए । सुब्बा विभिन्न मुद्दामा यसअघि पनि पक्राउ पर्दै आएका व्यक्ति हुन् । प्रहरीले चार दिन अघि मात्रै सुनको मुद्दाको बाहानामा गएर घरमा जाँच गरेको थियो । त्यो बेलादेखि नै उनी फरार रहेका थिए । उनीमाथि जवर्जस्ती करणीको मुद्दा अगाडि बढाइने प्रहरीको भनाई छ । उनि यसअघि पनि ज्यान मारेको अभियोगमा उनी लामो समय जेल बसेर फर्किएका व्यक्ति हुन् । उनी पछिल्लो समय राजनीतिमा सक्रिय रहेका थिए । राजनीतिमा सक्रिय रहेका समयमा पनि उनी धरानमा भएका विभिन्न अपराधिक घटनामा संलग्न हुँदै आएका थिए । उनि अदालतको धरौटी आदेशमा छुट्दै आएका व्यक्ति पनि हुन् ।