खोटाङः जिल्लाको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल बृद्धा महिलाको हत्या भएको छ । एक्लै घर बस्दै आएकी सो वडाकी रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । उनको घाँटीको–दायाँ सामान्य चोट लागेको अवस्थामा फेला पारिएकाले उनको हत्या भएको आशंका गरिएको छ ।
प्रहरीले एकल महिलाको हत्या गरेको आशङ्कामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले बताए ।
“एकल महिलाको गए राति १०ः०० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, उनले भने, “पक्राउ परेका मुकेशले प्रहरी सामु ‘मान्छे मारेर आएको’ भनेका छन् ।”
महिलाको हत्यापछि सुक्रबार बिहान सिम्पानीतर्फ जाँदै गरेका मुकेशलाई प्रहरीले बाटैबाट नियन्त्रणमा लिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि वडासदस्य अर्जुन राईसँगै छिमेकीलाई हेर्न पठाउँदा महिला मृत फेला परेकी थिइन् । महिला हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए ।
मृतक एकल महिलाको दुई छोरीको विवाह भइसकेको र श्रीमान्को पनि मृत्यु भइसकेको अवस्थामा घरमा एक्लै बस्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकाले नै ती बृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तर के कारणले हत्या गरिएको हो ? अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।