संखुवासभा: लकडाउनमा राहत वितरण गर्न बढी सक्रिय देखिएका २ वटा गैरसरकारी संस्थाहरुले भोटखोलासम्म राहत प्याकेज पुर्याएका छन् । यसअघि खाँदबारी नगरपालिकाको वडा नं.१, ७ लगायतका स्थानमा स्थानीय सरकारमार्फत राहत वितरण गरेको हिमाली पहुँच केन्द्र र नयाँ आशा समाजले यही जेष्ठ ८ गते बिहीवार भोटखोला गाउँपालिकाको गोलाबजारमा २ वटा वडालाई समेटेर २ सय ४५ बोरा चामल बितरण गरेको छ । यी २ गैरसरकारी संस्थाहरुले भोटखोलाको वडा नं. ४ र ५ मा राहत वितरण गरेका हुन् । वडा नं. ४ का १ सय २३ परिवार र वडा नं। ५ नं. का १ सय २२ परिवारलाई राहत वितरण गरिएको नयाँ आशा समाजका अध्यक्ष लाक्पा ल्होमी भोटेले जानकारी गराए ।
गैरसरकारी संस्थाको राहत सहयोगबाट भोटखोलाको माङ्खिम, लिङ्गम, स्याक्सिला, सिम्ब्रुङ, राप्सा, डाँडागाउँ लगायतका विपन्न परिवारलाई राहत पुगेको छ । गैससले सर्वप्रथम सम्वन्धित वडा कार्यालयलाई राहत सामाग्री उपलब्ध गराएको र वडाले छनौट गरेका स्थानीयलाई मात्र राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा नयाँ आशा समाजका अध्यक्ष लाक्पा ल्होमी भोटे, हिमाली पहुँच केन्द्रका प्रतिनिधि, भोटखोला ४ का अध्यक्ष किङसाङ भोटे, वडा नं. ५ का अध्यक्ष बालकुमार राई, वडाका सचिब, जनप्रतिनिधिहरु, गोलाबजारका बुद्धिजीवीहरु, पत्रकार, प्रहरी प्रशासनका प्रतिनिधिहरु लगायतको उपस्थिती थियो ।
बृद्धभत्ता पाउँने, एकल महिला, कर्मचारी र बैदेशिक रोजगारमा गएका परिवारलाई राहत गरिएको छैन । वडा कार्यालयहरुको समन्वयमा राहत वितरण छनौट समिति गठन गरिएको र सो समितिमा नेकपा, नेपाली काङ्ग्रेस लगायत राजनीतिक दलहरुको समान प्रतिनिधित्व रहेको वताइएको छ ।
भोटखोला गाउँपालिका हिमाली जिल्ला सङ्खुवासभाको अति बिकट क्षेत्रमा रहेको पालिका हो । यातायात, बिजुली, सञ्चार, स्वास्थ्य, शिक्षा लगायत अनगिन्ती समस्याहरुको वावजुद त्यहाँ उत्पादन हुने कोदो, मकै, आलु लगायतले सरदर ३ महिना खान पुग्छ । भोटखोलाका अधिकांश नागरिकहरु तिब्बतबाट खाद्यान्न आयात गरेर जिविकोपार्जन गर्दछन् । विगतमा धेरै पटक खाद्य सङ्कटको सामना गरेका भोटखोलाबासीहरु अन्नको बिकल्पमा कन्दमुल खाएरसमेत गुजारा गर्दछन् । यतिवेला कोभिड–१९ को प्रभाव र निरन्तरको लकडाउनले जनजीवन कष्टकर बनिरहेको भन्ने जानकारी पाएपश्चात तत्कालका लागि त्यहाँका विपन्न परिवारलाई कम्तीमा ‘एक परिवार– एक बोरा चामल’का दरले राहत प्रदान गरिएको नयाँ आशा समाजले जानकारी गराएको हो ।