इटहरीः माघ १५ गते चार जनाको सामूहिक बलात्कारको शिकार भएकी एक १५ बर्षीया बालिका र उनका बहिनीहरुलाई पीडकहरुले ज्यान मार्ने धम्की दिएका छन् । उनिहरु खनार १२ को गाँउबाट असुरक्षित भई गाँउ छाड्न बाध्य भएका छन् ।
खनार १२ मा बस्ने ती किशोरीलाई पटक पटक सामूहिक बलात्कार गर्ने स्थानीय लक्षमण राई सहित ४ जनालाई प्रहरीले बैशाख ९ गते पक्राउ गरेको थियो । पक्राउ परेका ४ जना मध्ये लक्षमण सहित दुई जनालाई अदालतले नाबालक ठहराई छाडिदिएको छ । उनिहरुको उमेर १७ र १८ बर्ष भएको भन्दै अदालतको आदेशमा छुटेका मध्ये लक्षमण राईले जहाँ भए पनि मार्ने भन्दै पीडित बालिका र उनका बहिनीहरुलाई खोजी रहेको पीडित बालिकाकी सानी आमाले बताइन् ।
राईले हाम्रो जिन्दगी बर्वाद पार्ने तिमिहरुलाई जहाँ भेटेपनि मार्छु भन्दै निरन्तर धम्की दिइरहेको सानी आमाले बताइन् । उनिहरुको धम्कीका कारण लुकीछिपी हिड्न परेको उनको भनाई छ । छुटेर आएकाहरुबाट पटक पटक ज्यान मार्ने धम्की आएको बिषयमा प्रहरी प्रशासनलाई जानकारी गराउँदा वेवास्था गरिएको सानी आमाले बताइन् । कहाँ कति बेला म र मेरा तीन छोरीहरुमाथि हमला हुन्छ केही थाहा नभएको उनले जनाइन् । पिडित बालिकाकी माहिली बहिनीलाई पनि लक्षमणले फोन गरि तेरो दिदि कहाँ छ बोलाएर ल्याउ म मार्छु भनेको बताइन् । उनीहरुले आफुहरु बसेको घरमा आएर बाहिरबाट ढुंगा हान्ने काम पनि गरेको उनले बताइन् । बसिरहेको घरमा असुरक्षित भएपछि सानी आमाको सम्पर्कमा आएको उनिहरुले बताए । सानी आमासंग इटहरी र आसपासमा लुकीछिपी बसिरहेको उनिहरुले बताए ।
१५ बर्षीया किशोरीको लक्षमणसँग पहिलाबाटै चिनजान भएको थियो । उनिहरुको प्रेम सम्बन्ध पनि रहेको र उनि म भोलि पहाड जाने भन्दै भेट्न आउन भनेपछि उसलाई भेट्न गएको उनले बताईन् । उनलाई भेट्न गएपछि अन्य ३ जना आएर सबैले पालै पालो बलात्कार गरेको पीडित बालिकाले बताइन् । सामूहिक बलात्कारको शिकार भएकी बालिकाले घटनाबारे आफन्त मार्फत प्रहरीलाई खबर गरेकी थिइन् । मोरङ प्रहरीले घटनामा संलग्न पक्राउ गरि मुद्धा चलाएको थियो ।
इटहरी १२ खनारको गाँउमा बसोबास गर्ने उनिहरु असुरिक्षत भएपछि इटहरी चौंकको पश्चिमतर्फ केही समय बसेका थिए । त्यो बेला महिला आधारशिला सुनसरीको सम्पर्कमा आएका थिए । सो संस्थाले इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई घटना बारे जानकारी गराएको थियो ।
उपमेयर गौतमले तत्कालै उनिहरुलाई सम्पर्क गरि भोलिपल्टै सेफहाउसमा ल्याएर सुरक्षा प्रदान गरेकी थिइन् । पिडित बालिकाले स्वास्थ्य उपचार समेत नपाएकाले उपमेयरकै अग्रसरतामा विराटनगरमा लगेर ती बालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार गरिएको थियो । पिडित बालिका सहित उनका अन्य दुई बहिनी र सानी आमा समेत असुरक्षाका कारण संगै बस्नु पर्ने बाध्यता भएपछि उपमहानगरले उनिहरुलाई खानका लागि केही खाद्यन्न सामाग्री र ग्यास सिलिण्डर प्रदान गरेको थियो ।
उपचार र सुरक्षाको माग
सामूहिक बलात्कारको शिकार भएकी १५ बर्षीया बालिकाकी सानी आमाले अहिलेपनि छोरीको ब्रेष्ट चिरिने समस्याले सताएको बताएकी छन् । आर्थिक अभाव भएका कारण उनको उपचारका लागि डाक्टरकोमा जान नसकेको उनले बताइन् । कहि कत्तैबाट छोरीको उपचार गर्न पाए मनमा सन्तोष पलाउने उनले बताइन् । उनले आफुहरु छुटेर आएकाहरुको खोजीमा रहेकाले असुरक्षित भएर हिड्नु पर्ने र रातभरी त्रासमा बस्नु पर्ने बाध्यता भएकाले सुरक्षाका लागि सम्बधित निकायले चासो राखिदिन उनले आग्रह गरेकी छन् ।