बराहक्षेत्रः झापाको दमक घरभई सुनसरीको बराहक्षेत्र ३ मा रहेको ससुराली घरमा बस्दै आएका ३७ बर्षीय कमल राईको बिहिबार राती कुटेरै हत्या गरिएको छ । उनको हत्यामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ७ जनालाई हिजो पक्राउ गरेको छ ।उनि यसअघि बराहक्षेत्र ३ बांगे बस्दथे । त्यहाँबाट उनि दमक बसाई सरि गएका थिए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरण कुमार दाहालका अनुसार उनको शव सुक्रबार बिहान स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट उनको पुरानो रिसइबीबाट हत्या भएको खुलेको प्रहरी निरिक्षक दाहालले बताए । ७ जना मध्ये राईको हत्यामा २ जनाको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना बिहिबार राती करिब ७ बजेतिर भएको खुलेको छ । अनुसन्धानको लागि ७ जना पक्राउ परेपनि हत्यामा उनको जेठी श्रीमतिका भाई (मृतकको सालो)सहित २ जनाको मात्र संलग्नता हुनसक्ने प्रारम्भिकरुपमा खुलेको छ । प्रहरी निरिक्षक दाहालका अनुसार बिहानैदेखि उनीहरुले मदिरा पिएको र साँझ छुटेर गएका थिए । तर, पछि २ जनासँग भेट भएपछि पुरानो रिसइबीले लाठीले कुटेर हत्या गरेको हो कि भन्ने प्रारम्भिकरुपमा खुलेको छ ।

मृतक राई दमक बसाई सरेपनि उनको आमा बराहक्षेत्रको बांगेमा नै रहदै आएकी छिन् । यस्तै, ससुराली पनि उनको बराहक्षेत्र ३ मा नै पर्छ । उनी गएको फागुनदेखि ससुराली घरमा नै बस्दै आएका थिए । मृतकले दोस्रो विवाह गरेको प्रहरीले जनाएको छ ।