भोजपुर : लकडाउनले भारतीय सिमामा फसेका नागरिकको उद्वार लागि होल्डिङ एरियासहितको १ सय १५ शैया क्षमताको क्वारेन्टाइन बनाईएको छ । विभिन्न रोजगारीको शिलशिलामा भारत गएका जिल्लाबासीलाई ल्याएर राख्नका लागि व्यवस्थित रुपले क्वारेन्टाइन बनाईएको हो ।
पहिलो चरणमा नेपाल भारत सिमानामा अलपत्र ४० जनालाई अरुण गाउँपालिकाको जरायोटारको रानीटारस्थित होल्डिङ एरिया छनोट गरी क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाले बनाएको उक्त अस्थायी संरचनाको क्वारेन्टाइनमा अहिले ४० जनालाई आश्रय दिईएको छ । विभिन्न रोजगारीको शिलशिलामा भारतको सिमानाकामा अलपत्र आफ्ना नागरिकको उद्वार गर्ने काम थालिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । उनले भने, ‘सिमा क्षेत्रमा आएका भोजपुरका नागरिकलाई होल्डिङ्ग एरिया ल्याएर राख्छौ र पिसिआर रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकालाई जिम्मा लगाउने व्यवस्था मिलाएका छौ ।’
विशेषगरि सिमा क्षेत्रमा रोकिएका सर्वसाधरण रातरात भागेर आउनाले संक्रमण फैलिने सम्भावना बढेपछि सुरक्षित तरिकाबाट उनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्ने तयारीमा जिल्ला प्रशासन र स्थानीय तह जुटेका हुन् । संक्रमणको डरसंगै उनीहरुलाई व्यवस्थापन गर्न समस्या हुने भएकाले सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकको उद्वारमा दायित्व बोध गर्नुपर्ने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्की बताउँछन् ।
होल्डिङ एरियामा उद्वार गरिएका नागरिकको स्वाब संकलन परीक्षण गरेपछि नेगेटिभ रिपोर्टको आधारमा सम्बन्धित स्थानिय तहको क्वारेन्टाईनमा पठाईनेछ । परिक्षणका क्रममा कसैलाई पोजेटिभ रिपोर्ट देखिए उपचारका लागि धरान अथवा विराटनगरको कोराना विशेष अस्पताल पठाईने व्यवस्था गरिएको छ । सिमाबाट ल्याईएका नागरिकलाई सम्बन्धित ९ वटै स्थानीय तहसंग समन्वय भईरहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति लक्ष्मण खड्काले बताए । उनले भने, ‘सबै पालिकाहरुसँग समन्वय भइरहेको छ, अरुकुनै पनि नाकाबाट जिल्ला आउन पाउने छैन, एउटामात्र नाक खुल्ला गरेका छौ ।’
सम्पर्कमा आउने भैरहवाको सुनौली नाकास्थित साल्पासिलिछो गाउँपालिकाका ७ जना, षडानन्द नगरपालिकाका ६ जना, झापाको काकाडभिट्टा नाकास्थित पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाका लगायतका ४० जनालाई ल्याईएको छ ।