इटहरी :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रूपैयाँ घुससहित ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवनकुमार यादव र सव–डिभिजन वन कार्यालय फुङलिङका सहायक वन अधिकृत वीरेन्द्रप्रसाद साहलाई पक्राउ गरेको हो।
जडिवुटी निकासी छुटपूर्जी दिएवापत सेवाग्राहीसँग एक–एक लाख (जम्मा दुई लाख) रुपैयाँ घुस माग गरेका उनीहरुलाई घुस रकमसहित डिभिजन वन कार्यालय परिसर ताप्लेजुङबाट मङ्गलबार साँझ पक्राउ गरेको अख्तियारले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ।
अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो।