इटहरी :रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिंजालीले कसूर स्वीकार गरेका छन् ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।
घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।
गाउँलेले उनलाई प्रहरीको जिम्मा लगाउँदा सिंजाली अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार भईरहेको छ । त्यसक्रममा सामान्य बोल्न थालेपछि प्रहरीले प्रारम्भिक सोधपुछ गरेको थियो ।
उनीहरु के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन । घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् । करण र आशिष फार्मका कामदार होइनन् ।
उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए ।