विराटनगरः प्रहरी जवानले माग्दै गरेको रकम लिन गएका प्रहरी सहायक निरीक्षक (असई) अख्तियारको फन्दामा परेका छन् । मोरङ कटहरी सीआरभी प्रहरीका असई सीताराम घिमिरेलाई बिहीबार अख्तियारले पक्राउ गरेको हो । सीआरभीका चालक अरूण चौधरीले स्थानीय खाजा पसलेसँग नियमित रकम माग गर्दै आएका थिए ।

रकम दिन नमानेपछि चौधरीले असई घिमिरेलाई प्रयोग गरेका थिए । लगातारको दवाब पाएका पसलेले अख्तियारमा खबर गरेपछि कटहरी सीआरभीमा आएको एक सातामै घिमिरे पक्राउ परेका हुन् ।

घिमिरे पक्राउ परेका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै स्थानीय होटल सञ्चालनमा सहजीकरण गर्ने भन्दै घिमिरेले ४ हजार रूपैयँ लिएको जनाएका छन् । घटना विवरण अनुसार चालक चौधरीले पसलेसँग रकम लिन लामो समयदेखि प्रयास गरेका थिए ।

सोमबार उनले घिमिरेलाई आफ्नो फोनबाट पसलेसँग कुरा गराई रकमको मोलमोलाई गर्न लगाएका थिए । ५ हजार माग गरेका घिमिरेलाई पसलेले ३ हजार दिने बताएपछि दुबैको ४ हजार रूपैंयामा कुरा मिलेको थियो । त्यस लगत्तै चालक चौधरीले फोन गरेर पसलेलाई भने– ‘असई साबलाई त भयो ड्राइभरलाई पनि दिनु पर्छ ।’ चौधरीले थप ५ हजार रूपैंया चालकका लागि माग गरेका थिए ।

अख्तियार इटहरीका कर्मचारीले घिमिरेले नै रकम माग गरेकाले उनलाई रंगेहात पक्राउ गर्ने बुधबार नै तयारी गरेको थियो । तर, घिमिरेले रकम दिन पसलेलाई बिहीबार बिहान १० बजे कटहरीको गुद्रीहाट लाग्ने ठाउँमा आउन भनेकाले अख्तियारको टोलीले एक दिन कुर्नु परेको थियो ।

बिहीबार दिउँसो ११ बजे असई घिमिरेले पसलेलाई कटहरी चोकको शिव मन्दिरमा बोलाएका थिए । असई घिमिरे जानु अघिनै अख्तियारको टोली त्यहाँ पुगिसकेको थियो । अख्तियार इटहरीका प्रहरी नायव उपरीक्षक श्याम सारू मगरको नेतृत्वको टोली भएकै ठाउँमा पसलेले ८ वटा ५ सय दरका नोट घिमिरेलाई बुझाए ।

दृश्य चलचित्रको जस्तो थियो । सादा पोशाकका मानिसले घिमिरेको हात समाउँदै सोधपुछ गरे । गाउँपालिका, जनप्रतिनिधि, जिल्ला प्रशासन र प्रहरीका प्रतिनिधिलाई बोलाइयो । घिमिरेले बोकेको पेस्तोल र सञ्चार सेट अख्तियारका प्रहरीले खोसेर सीआरभीकै हवल्दार महिलालाई जिम्मा दिए ।

वडाध्यक्ष जदुलाल कामतले वडा प्रहरी कार्यालय हाटखोलाका प्रहरी नायव निरीक्षक मनोज अधिकारीको शरीर खानतलासी गरेपछि अधिकारीले नियन्त्रणमा रहेका घिमिरेको शरीर जाँच गर्दा पाइन्टको खल्तीमा ८ वटा ५ सयका नोट फेला परेको थियो । त्यसअघि फोटोकपी गरेर राखिएको नोटको नम्बर मिलाएर घिमिरेले घूस लिएको प्रमाणित गरिएको थियो ।
दुई वटा ग्लासमा पानी हालेर एकमा वडाध्यक्ष कामत र अर्कोमा असई घिमिरेको हातको औंला डुबाउन लगाइयो । घिमिरेले औंला डुबाएको पानी रातो भएको थियो । अख्तियारले दिएको नोट पसलेमार्फत घिमिरेले लिएकाले उनको हातबाट रङ निस्किएको हो । चालक चौधरीको फटाईका कारण असई घिमिरे फसेको स्थानीयले बताए ।

अख्तियारको नियन्त्रणमा आएपछि असई घिमिरेले भने– ‘चिन्दै नचिनेको मानिसले फसायो ।’ स्थानीयका अनुसार चालक चौधरी कटहरीका साधारण कारोबारीका लागि अभिशाप बन्दै आएका थिए । लकडाउनका बेला सानातिना पसल खुलेपनि रकम माग गर्ने गर्थे । रकम माग गर्ने चौधरीले पठाएका असई पक्राउ परेपछि स्थानीयले चौधरीलाई पनि पक्राउ गर्नु पर्ने माग गरेका छन् ।                                                                                                                       उदघोषबाट