इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनार घर भई विराटनगरको मधुमारामा औषधी व्यवसाय गरेर बसेका देवीप्रसाद दुलाल हत्यामा संलग्न श्रीमति मीना श्रेष्ठ दुलाल सहित ३ जना विरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले दुलालको हत्या आरोपमा पक्राउ परेकी श्रीमति मीना श्रेष्ठ, सिराहाको लहान नगरपालिका १० घर भई हाल विराटनगरमा बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी उपमहानगरपालिका १२ का २० वर्षीय सोनु साहलाई प्रहरीले प्रतिवादी बनाएर बिहीबार कर्तब्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको हो ।
इटहरी–१२ खनार घर भई विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि पसल सञ्चालन गर्ने दुलालको गत जेठ ४ गते श्रीमति मिनाको योजनामा तीन जना मिलेर हत्या गरेका थिए । मोरङ प्रहरीले उनीहरूलाई ५ जेठमा पक्राउ गरेको थियो । प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान पुरा गरि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा अभियोग दर्ता भएको प्रहीले जनाएको छ ।
जिल्ला अदालत मोरङका अनुसार अभियोग दर्ता भएकोले शुक्रबारबाट प्रतिवादीहरूको बयान सुरू हुने छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले बताएको छ । जेठ ४ गते दुलालको हत्या गरेपछि ओछ्यामा बेहोस भेटिएको भन्दै उनकी श्रीमति मीनाले विराटनगरस्थित गोल्डेन अस्पतालमा लगेकोमा उनको मृत्यु भइसकेको थियो । मृतकको शरिरमा चोट देखिएको र श्रीमति मीनाको भनाई बाझिएको देखिएपछि अनुसन्धान गर्दा उनकै योजनामा हत्या भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
श्रीमती मीना र ब्रह्मदेवको मुख्य योजनामा सोनुको पनि संलग्नमा दुलालको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । देवीप्रसादको श्रीमतिसँग सम्बन्ध राम्रो नभएको र मनमुटाव भई झैझगडा हुँदै आएकोले मीनाको योजना अनुसार हत्या भएको थियो । देवीप्रसादले ब्रम्महदेवलाई कामदारका रुपमा पसलमा राखेका थिए । तर उनीसंग श्रीमतिको सम्बन्ध राम्रो नभएपछि ६ महिना अघि मात्र कामबाट विदा गरेका थिए । ब्रम्महदेवलाई पसलबाट निकालेपछि देवीप्रसादको मीनासंग सम्बन्ध थप चिसिएको थियो । देवीप्रसादले श्रीमतिबाट असुरक्षित भएको जनाउ दिदै हत्या हुनु ११ दिनअघि फेसबुकमा स्टाटस नै लेखेका थिए ।