इलामः घरमा रोजगारी र आम्दानीको खासै स्रोत नभए पछि रोजगारीका लागि करीब ८ महिना अघि दुबई गएकी ईलाम देउमाई नगरपालिका( २ की सिर्जना चौहान (बस्नेत)ले आत्महत्या गरेकी छन् । पथरिया र पेट दुख्ने समस्या देखा परे पछि २६ बर्षीया सिर्जनाले काम गर्ने कम्पनीले समेत घर जान भनेको थियो । तर लकडाउनले आउन नपाएकी उनले केही दिन अघि देखि साथीहरुलाई यतै मर्छु कि के हो भन्दै सुनाएको उनका जेठाजु सुर्य बस्नेतले जानकारी दिए । सुर्य हाल साउदीमा रोजगारीका लागि रहेका छन् । उनले बुहारीले आत्महत्या गरेको खबर दुबईबाट सिर्जनाका साथीहरुले दिएको बताए ।
घर आउन पनि नपाउने, पैसा पनि नभएको र खान समेत समस्या परेको सिर्जनाले म्यासेन्जरमा कुराकानी हुदाँ बताउने गरेको सूर्यले जानकारी दिए । ‘पैसाको अभावले उपचार पनि हुन पाएन, खान बस्न पनि समस्या भयो रे, सरकारले उद्धार पनि गरेन त्यही भएर निराश भएर आत्महत्या गरेको हुन् सक्छिन्’ सुर्यले अनुमान गरे । दुबईमा सुल्तान कम्पनीमार्फत स्कुलमा काम गर्दै आएकी सिर्जनाको शबलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको जानकारी आएको उनले बताए । सिर्जनाले काम पनि खासै भएन, पैसा पनि कमाई भएन घर जानु पर्ला दाई म त भनेर एक महिना अघि देखि नै आफूलाई भन्दै आएको र आफूले पनि जानु भनेर भनेको सूर्यले बताए ।
श्रीमान् तीन महिनादेखि सम्पर्क बिहीन
सिर्जनाले आत्महत्या गरेको खबरले परिवार चिन्तित त बनेको छ नै अर्कोतिर सिर्जनाका पति अमृत बस्नेत समेत गत फागुणमा काठमाण्डौं जान्छु भनेर आएको करीब तीन महिना देखि सम्पर्क बिहिन रहेको परिवारले जनाएको छ । उनीहरुको परिवार अस्थायी रुपमा झापाको बिर्तामोडमा बस्दै आएका थिए । अमृत समेत बिदेश जाने भनेर लागेको भए पनि उनको मेडिकल फेल भए पछि जान पाएका थिएनन् । अमृतको सम्पर्क नं ९८१५०२४४१० मा हामीले समेत सम्पर्क गर्दा स्वीच अफ् रहेको छ । अमृतकी भाउजु रुक्मीणाका अनुसार दुबईको कम्पनीबाट सिर्जनाले आत्महत्या गरेको बिषयमा उनको माईती ईलामको राजदुवालीमा खबर गरेको थियो । सिर्जनाको सात बर्षे छोरो माईतमै छाडेर बिदेश गएकी थिईन् ।
अमृत समेत विदेश जाने एकै पटक तयारी भए पनि उनको मेडिकल फेल भए पछि सिर्जना मात्रै बिदेश गएको उनीहरुको परिवारले बताए । श्रीमान् समेत सम्पर्कमा नरहेको र कोरोना परीक्षण पछि मात्रै शब नेपाल ल्याउने नल्याउने बिषयमा प्रोसेस गर्ने मृतक सिर्जनाका जेठाजु सूर्यले बताए । सिर्जनाका बुबा भुपाल चौहानले भने एक साता अघि छोरीसगँ सम्पर्क हुदाँ राम्रै छ , लकडाउनले बाहिर निस्कन पाईदैन रुममै छु भनेर भनेको एक्कासी आत्महत्या गरेको खबर सुन्दा आफूहरु पिडामा परेको बताए । गत बर्ष बैशाखमा बिर्तामोडमा रहेको कपडा पसल बेचेर भएको ऋण तिरेर अनि पासपोर्ट बनाएर असोजमा विदेश गएको बुवा भुपालले बताए ।
“ नजा नानी, यसै बस छोरो पाल, पसल गर फेरी बरु हामी खोलिदिन्छौँ भनेर भने मैले तर उसले एक पल्ट चाँही जान्छु आए पछि केही गरौँल भनेकि छोरी अहिले यस्तो भई ” बुवा भुपालले भने । उनले सिर्जनासँग अन्तिम पटक भएको कुराकानीमा आफु ठिक रहेको, कोरोनाका कारण कोठामा नै बस्नुपर्ने बाहिर निस्कन नपाउने र कुनै समस्या नरहेको बताएको जानकारी दिए । यता ज्वाइ अमृतले अन्तिम पटक मेडिकल फेल भएको र केहि समयमा ठिक भयो भने फेरी बिदेश नै जान्छु बुबा भनेर सुनाएको चौहानको भनाइ छ । तर त्यसपछि फोन गर्दा नउठाउने र पछिल्लो समय त फोन नै अफ गरेर राखेको उनले बताए । सिर्जनाको माइती र परिवार दुबैले उनका श्रीमानलाइ खोजी गरिदिन आग्रह गरेका छन् । उनीहरूले अमृतलाइ कहि कतै देखेमा खबर गरिदिन पनि आग्रह गरेका छन् ।