भोजपुर :भोजपुर नगरपालिका–१२ का वडाध्यक्षले नै किर्ते कागजात बनाई योजनाको काम अघि बढाएको पाईएको छ । नगरपालिका १२ को टक्सारमा वडाध्यक्ष कुमार श्रेष्ठ आफैँले उपभोक्ता समितिको किर्ते हस्ताक्षर गरी योजनाको काम थालेको खुलेको हो ।
गत जेष्ठ २ गते नगरपालिकाको वार्षिक स्विकृत योजना अन्र्तगत वडा कार्यालयको कम्पाउण्ड घेराबारा गर्न विनियोजित ६ लाख बजेटका लागि उपभोक्ता समिति गठन भएको थियो । वडाध्यक्षको रोहबरमा बनेको उपभोक्ता समितिमा समितिको सचिव सहित अन्य ६ जना सदस्यको किर्ते हस्ताक्षर गरी योजना पास गरेको खुलेको हो । आफुहरुलाई कुनै जानकारी नै नगराई किर्ते हस्ताक्षर गरेर योजनाको काम अघि बढाएको उपभोक्ता समितिका सचिव पर्वत बयलकोटीले आरोप लगाए । भने, ‘समितिको सचिव मलाई राख्ने, फेरि मलाई नै कुनै जानकारी नगराई मेरो किर्ते हस्ताक्षर गर्नु कहाँसम्मको वैधानिकता हो?’
आफ्नो हस्ताक्षर चोरेर किर्ते कागजातबाट योजना पास गरी जानकारी नै नदिई काम गरेको भन्दै उपभोक्ता समितिका सदस्यले जिल्ला प्रशासनमा उजुरी हालेका छन् । किर्ते कागजातबाट नगरपालिकाले योजना स्विकृतिसंगै केहि रकम निकासा गरेको उनीहरुको गुनासो छ । समितिका सदस्य मिलन प्रधानले किर्ते हस्ताक्षर गरी सुरु गरेको योजनाका काम अवैधानिक भएको आरोप लगाए । समितिमा रहेपनि प्यारालाईसिसले ग्रसित स्थानीय प्रेमकुमार उदासको पनि किर्ते हस्ताक्षर भएको थियो । हस्ताक्षर नै गर्न नसक्ने उनको नाममा किर्ते हस्ताक्षर हुँदा कुनै जानकारी नआएको उनले गुनासो गरे ।
किर्ते कागजातमा वडाध्यक्ष श्रेष्ठकै रोहवरमा बसेको बैठक र निर्णयको माईन्युटमा ४४ जनाको उपस्थिती देखाईएको छ । यता वडाध्यक्ष श्रेष्ठले विकासको काममा कुनै अनियमिता नभएको भन्दै किर्ते हस्ताक्षरको कुरा ढाकछोप गर्ने प्रयास गरे । भने, ‘असार लागिसक्यो, विकासको काम गर्दा के अनियमितता ग¥यौँ र, किर्ते गरेर न कसैको सम्पति, न जग्गा नै हडपेका छौँ’ वडाध्यक्ष श्रेष्ठले नै माईन्युट लेख्न लगाएपछि समितिका सदस्यको उपस्थिती उठाएको वडा सचिव खड्का बहादुर तामाङले बताए । तर उक्त माईन्युटमा वडा सचिव तामाङले भने हस्ताक्षर गरेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रजिअ रामप्रसाद लुईँटेलले यसबारे सबै सूचना र जाहेरी पाइसकेको बताए । उनले भने, ‘अनुसन्धानको पाटो जिल्ला प्रशासनको भएकोले प्रक्रिया अगाडी बढाइएको छ, योजना स्विकृतिको विषयमा हामीले उजुरी दिने पदाधिकारी र वडाध्यक्ष श्रेष्ठलाई नगरपालिका जान भनेका छौं ।’
वडाध्यक्षको रोहबरमा किर्ते गरिएको माईन्युट । तस्वीर