इटहरीः धनकुटाकी एक १३ बर्षीया बालिकालाई यौन शोषण गरि गर्भवती समेत बनाएको आरोपमा पक्राउ परेका एक शिक्षक सहित ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत धनकुटाले आदेश दिएको छ ।

धनकुटा नगरपालिका ६ आत्माराकी १३ वर्षीया बालिकालाई लामो समयदेखि पटकपटक यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी, धनकुटा नगरपालिका वडा नंं. ६ का गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनीहरुलाई जेठ २९ गते जिल्ला अदालत धनकुटाका न्यायाधीश फणिन्द्र पराजुलीको एकल इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

चारै जनाले सामूहिक रूपमा बलात्कार गरेको नभई छट्टाछुट्टै यौन शोषण गरेकाले मुद्दा पनि अलग–अलग नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्रुवकुमार श्रेष्ठले बताए ।
चार जनाले धनकुटा वडा नं. ६ कै १३ वर्षीया बालिकालाई लामो समयदेखि यौन शोषण गर्दै आएका थिए । उनको स्वास्थ्य जाँच गर्दा ६ महिनाको गर्भ रहेको रिपोर्ट आएको छ । बालिकालाई अहिले पुनस्र्थापना केन्द्र धनकुटामा राखिएको छ भने प्रहरीले चारै जनालाई जबर्जस्ती करणी महलअन्तर्गत कारवाहीको माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।