इलामः इलाम माङसेबुङ घर भएका देवर–भाउजु रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । इलाम जिल्लाको माङसेबुङ गाँउपालिका–६ मा झुन्डिएको अवस्थामा देवर–भाउजुको शव भेटिएको प्रहरीले जनाएको छ । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकी भाउजु २६ वर्षीया गीता राईको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।
घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेर प्रकृति मुचुल्का उठाएको थियो । दुवैजनाको शवलाई हिजै पोष्टमार्टमको लागि पाँचथरको रवि लगिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरीको भनाइ छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।