इटहरीः १३ बर्षीया बालिकालाई भारतको डान्सबारमा बिक्री गर्ने इटहरी एक व्यक्ति सहित दुई जनालाई प्रहरीले कास्कीको लेकसाइडबाट पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक घर भइ इटहरी बस्दै आएका कृष्ण मगर र कास्की लेकसाइड बस्दै आएका प्रविण तामाङलाई पक्राउ गरेको हो ।
उनिहरुले ललितपुर–५, लगनखेलबाट १३ वर्षीया बालिकालाई काममा लगाइदिन्छु भनेर भारतमा विक्री गरेका थिए । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले भारतीय प्रहरीको सहयोगमा पीडितलाई उद्दार गरी दुई जनालाई पक्राउ गरेको हो ।
ब्युरोका एसपी गोविन्द थपलियाका अनुसार बालिकाको खोजी गर्ने क्रममा रसलपुर भन्ने स्थानमा रहेको खुलेपछि भारतीय प्रहरीसँग समन्वय गरिएको थियो । त्यसक्रममा बालिकालाई उत्तर प्रदेशको पिप्रा रसलपुर ओडओलिया भन्ने स्थानमा लगेर डान्स आर्केस्ट्रामा काम लगाएको पाइएको थपलियाले बताए ।

उनका अनुसार ९ फागुनमा उनीहरुले बालिकालाई काठमाडौं बसपार्कबाट भैरहवा–सुनौली हुँदै भारत लगेका थिए । पक्राउ परेकाविरुद्ध मानव बेचबखिन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।