इटहरीः प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित सुनसरी दुई जना र झापामा ३ जना गरि ५ जनालाई पक्राउ गरेको छ । लागूपदार्थ ओसारपसार गरेको आरोपमा सुनसरीमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिएको हो ।सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट उनीहरू पक्राउ परेका हुन् । भारतको सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मणकुमार पासवान र १९ वर्षीय अर्जुनकुमार पासवान पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शंका लागेर उनीहरूको जाँच गर्दा कालो प्लास्टिकभित्र लुकाएको अवस्थामा ब्राउन सुगर बरामद भएको जनाइएको छ । उनीहरूका साथबाट केही भारतीय रुपैयाँ, भारतका विभिन्न बैंकका एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
उता आइतबार साँझ झापाको कमल ५ पाडाजुँगी हुँदै गौरादहतर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले पछ्याएको थियो । मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा कमल–५ बस्ने २० वर्षका दीपेश थापा, झापा गाउँपालिका–४ बस्ने २१ वर्षका सेराज अली र सोही स्थानका २३ वर्षका अनन्तप्रसाद गणेश छन् । पक्राउ परेका हरुको साथबाट २८ दशमलव ९७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनीहरुलाई कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले जानकारी दिए ।