काठमाण्डौंः सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन् ।

गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म मुलुकभर कूल १ सय ३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ । हालै सशस्त्रले चीनतर्फका नाका हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेका छन् ।

यस्तै त्रिदेशीय नाकाका रुपमा रहेको दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ । २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो । त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन् ।

सरकारले गत वर्षको मङ्सिर २३ गते थप ११४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा ४ गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म दक्षिणतर्फ १२८ र उत्तरतर्फ ४ बिओपी स्थापना भएका छन् ।


सरकारले पहिलो चरणमा २ सय २१ चौकी स्थापना गर्ने योजनाका साथ काम तीव्र पारिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का अनुसार सीमा क्षेत्रमा ५ सय बिओपी बनाउने योजना अघि बढाइएको छ । त्यसअनुसार पहिलो चरणमा २ सय २१ स्थानमा चौकी स्थापना गर्ने क्रमअन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता छ ।

चौकी स्थापनाका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयमा कार्ययोजनासमेत पेश गरिसकेको छ । उक्त कार्य योजनाअनुसार चौकी स्थापना गर्न नौ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ । रासस