इटहरीः आफ्नै कन्चटमाथि गोली प्रहार गरि गम्भिर घाइते भएका जिल्ला अदालत सुनसरीको ४ नम्बर बेञ्चका न्यायधिश शंकर राईको सुरक्षामा खटिएका प्रहरी हबल्दार ओमप्रकास खतिवडाको उपचारका क्रममा मृत्यु भएको छ । आज साँझ ७ बजेतिर गोली प्रहार गरी गम्भीर घाइते भएका उनलाई तत्कालै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि ल्याइएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको अस्पताल पु¥याइएको १५ मिनेट पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनले के कारणले त्यसरी आफ्नै कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको डिएसपी शर्माले बताए ।