विराटनगर: लकडाउनको समयमा भारतबाट अबैध रुपमा सामान ल्याउँदै गरेका ६ जनालाई प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।

बिराटनगर महानगरपालिका– १२ बखरीबाट भन्सार छली गरी ल्याएको करिब ५ लाख भन्दा बढीको अबैध समानसहित ६ जनालाई पक्राउ गरेको हो ।

बिहीबार बिहान करिब ४ बजे प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को १ ह ८४५१ टेम्पो र को १३ प ४२४७ नम्बरको मोटरसाइकलमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा टेम्पो चालक बिराटनगर– १५ का राजापासवान सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिशाल चौधरी, सोनु चौधरी, रोहित चौधरी, पुरुषोत्तम चौधरी र अबिनाश चौधरी छन् ।

पक्राउ परेकाहरुको साथबाट भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख ३० हजार रुपैयाँ बराबरको बिभिन्न किसिमका लत्ताकपडा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

बरामद भएको समान, पक्राउ परेका मानिस तथा सवारी साधन समेत आवश्यक कारवाहीको लागी बिराटनगर भन्सार कार्यालय पठाएको छ ।