धरानः लागु औषध बिक्री गर्ने धरान ७ का एक मेडिकल संचालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीलले धरान उपमहानगरपालिका वडा नं. ७ स्थित भानुचोकमा रहेको सुमन मेडिकल हलका संचालक ५३ वर्षिय विनयकुमार गुरूङ सहित उनीबाट खरिद गरि लागु औषध प्रयोग गर्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सो मेडिकल हलमा औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको भनि सुचना प्राप्त भएकोमा औषधी व्यवस्था विभाग विराटनगर संग समन्वय गरि प्रहरीले निगरानी राखेको थियो । निगरानीको क्रममा सो मेडिकलबाट औषधि खरिद गरी लैजादै गरेको अवस्थामा धरान १० का २० वर्षिय सम्यक श्रेष्ठ, धरान १५ का २२ वर्षिय सहबाज सिद्धिकी, २९ वर्षिय अमिर नेपाली र २२ वर्षिय अर्जुन बराइली पक्राउ परेको डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीले सो मेडिकलबाट लागु औषध खरिद गरी लैजादै गरेको अवस्थामा उनिहरूको साथबाट डेसोलिक १० ट्याब्लेट, प्रेग्स्टार एम ५ ट्याब्लेट, एपाबालिन १५ ट्याब्लेट बरामद भएको थियो । त्यसैगरि सो मेडिकलबाट डेसोलिक ४ सय ट्याब्लेट, प्रेग्स्टार एम १ सय २० ट्याब्लेट र एपाबालिन ३ सय ४० ट्याब्लेट बरामद भएको डिएसपी बस्नेतले बताए ।

पक्राउ परेका निजहरुलाई नियन्त्रणमा लिई निजहरुको साथबाट औषधि बरामद भएपछि उक्त मेडिकलमा समेत तलाशी गर्दा उक्त औषधि फेला परेको थियो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि आज मंगलबार औषधि ब्यबस्था बिभाग बिराटनगर पठाईएको डिएसपी बस्नेतले बताए । फोटोः रेडियो धरानबाट