उर्लाबारीः चार महिनाअघि घरमा एक्लै भएका बेला १७ बर्षिय किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पिडित किशोरीको उजुरीका आधारमा जरवजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले दुईजनालाई पक्राउ गरेको हो । सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका– ५ का ३० वर्षिय प्रदिप खतिवडा र २१ वर्षिय भेषराज आचार्यलाई पक्राउ गरेको हो । घटना गत २७ फागुनमा भएको प्रहरीले जनाएको छ ।
सोमबार पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । प्रहरी नायव उपरीक्षक राईका अनुसार उर्लाबारी ५ की १७ वर्षिय किशोरी माथि घरमा एक्लै भएको अवस्थामा दिउँसै करणी भएको थियो ।
घटना कसैलाई सुनाए ज्यान मार्ने धम्की दिएका कारण करिब चार महिनासम्म घटना गुपचुप राखेको परिवारका सदस्यहरुले बताए । किशारी गर्भवती रहेको खुलेपछि आफन्त सोमबार इलाका प्रहरी कार्यालय पुगेर किशोरीको तर्फबाट उजुरी दिएका थिए । उजुरी दर्ता भएसंगै दुई जनालाई पक्राउ गरिएको हो । चार महिनापछि जाहेरी आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही दिन दुई युवकलाई पक्राउ गर्याे । प्रहरीका अनुसार पीडित युवती र पक्राउ परेका दुईजना एउटै गाउँका हुन । गाउँकै घटना भएका कारण मिलाउने प्रयास पनि भएको थियो । तर पीडित परिवार प्रहरीमा जाहेरी दिन पुगेको बताइएको छ ।