इटहरीः १ नम्बर प्रदेशमा काजमा बसेका ७९९ प्रहरी रमाना बुझेर दरबन्दीमा हाजिर भएका छन् । यो सँगै प्रदेश प्रहरीमा काज ‘क्लियर’ गर्ने उद्घोष गरेका डिआइजी ईश्वर बाबु कार्कीको निर्देशन पूर्ण रूपमा कार्यान्वयन भइरहेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना बुझेर दरबन्दीमा हाजिर भएको र अझै ८ सय ७ जना रमाना बुझ्न बाँकी रहेको जानकारी दिए ।

हालसम्म इलामबाट ४६, उदयपुरबाट ४५, ओखलढुंगाबाट ३२, खोटाङबाट ४९, झापाबाट ११२, ताप्लेजुङबाट ४३, तेह्रथुमबाट ३७, दङ्गा नियन्त्रण गणबाट २३, धनकुटाबाट ३२ जना सरुवा भएको क्षेत्रमा पठाइएका छन् ।

पाँचथरबाट ६१, भोजपुरबाट ३८, मोरङबाट १२३, विपद् व्यवस्थापन शाखाबाट २, सङ्खुवासभाबाट १९, सुनसरीबाट ११६ र सोलुखुम्बुबाट २१ जना गरी ७९९ जना सरुवा भएको क्षेत्रमा पठाइएको छ ।

यो सङ्ख्याबाट सुनसरी, मोरङ र झापा जिल्लामा प्रहरी बढी काजमा बस्ने गरेको देखाएको छ । बाँकी रहेकालाई पनि चाडै पठाउने गरी डिआईजीसाँवले निर्देशन दिइएको पोखरेलले  बताए ।

‘सबैलाई एकै पटक पठाउँदा कार्यालयको डिउटी तथा अन्य काम कारबाहीमा असर पुग्ने भएकाले क्रमशः हामीले पठाउँदै छौ’ उनले भने ‘काजमा क्लियर अभियान शतप्रतिशत कार्यान्वयन हुन्छ’ । बढीमा साउन पहिलो सातासम्म काज बस्ने सबै प्रहरीलाई पठाउने तयारी भइरहेको उनले बताए ।