इटहरी: सुनसरी जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हबलदार ओम प्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेको घटनामा उनका श्रीमती र एक पुरुषलाई ‘आत्महत्या दुरुत्साहन‘ मुद्दा चलाइएको छ ।
१६ असारमा न्यायाधीश शंकर बहादुर राईका बडीगार्ड रहेका मोरङ उर्लाबारी ९ दुर्गापुरीका खतिवडाको घटनामा उनका भाइले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटना भएको तेस्रो दिनमा दुरुत्साहनको जाहेरी दिएका थिए ।
जाहेरीपछि खतिवडाकी श्रीमती दीक्षा खतिवडा र उर्लाबारी ९ कै विशाल तामाङलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । तामाङलाई २० गते र श्रीमतीलाई आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।
श्रीमती दीक्षालाई भने १३ दिनको काम पश्चात् पक्राउ गरिएको हो ।
खतिवडाले १६ असारमा अदालत परिसरको छतमा आफैले बोक्ने पेस्तोलबाट कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका थिए । प्रहरी उपरीक्षक थापाका अनुसार पक्राउ गरिएकी दीक्षा र तामाङ बिच ‘अवैध‘ सम्बन्धका कारण घटना हुन पुगेको बताए ।
थापाले भने ‘श्रीमतीको सम्बन्ध तामाङसँग रहेको मृतक जानकार थिए, उनले धेरै पटक सम्झाएको अवस्था छ । तर श्रीमान् को कुरा अवज्ञा गदै दीक्षा खुलेआम तामाङसँग हिँड्न थालेपछि उनी अत्यन्त डिप्रेसनमा पुगेका थिए ।’
घटना भएको दिन मृतक खतिवडाले श्रीमती दीक्षा र तामाङलाई फोन गरी आफैलाई गोली हानेका थिए । श्रीमतीको अवैध सम्बन्धकै कारण उनले तनावमा गोली हानेको समेत अनुसन्धानले देखाएको छ ।
कस्तो छ सजाय ?
अपराध संहिताको दफा १८५ (आत्महत्या गर्न दुरुत्साहन दिन नहुने) को उपदफा १ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन नहुने प्रावधान छ। उपदफा २ मा उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेु प्रावधान छ।