इटहरी: सुनसरीमा प्रहरी र एक अपराधिक समूहबीच गोली हानाहान हुदाँ दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार राति पौने ९ बजेको समयमा जिल्लाको देवानगञ्ज गाउँपालिका वार्ड नम्बर ३ स्थित देवानगञ्जमा नेपाल प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको हो ।
प्रहरीको नियमित गस्ती अन्तर्गत सर्च अप्रेसनको क्रममा गस्तीमा जिल्लाको देवानगञ्ज गाउँपालिका वार्ड नम्बर ३ मा रातीको समयमा भारतबाट दुई वटा मोटरसाईकलमा आईरहेका ५ जना माथि शंका लागि सोधखोज गर्दा दुबै पक्षबीच गोली हानाहान भएको थियो ।
हतियार खोसाखोस गर्ने क्रममा एक थान पेस्तोल, केही राउण्ड गोली र २ थान म्यागेजिन समेत बरामद भएको प्रहरीले जनाएको छ । दुबै तर्फको फाइरिङ हुँदा करिब १०÷१२ राउण्ड गोली चलेको थियो ।
दोहोरो फाइरिङ हुँदा दुई जनालाई गोली लागेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माले जानकारी दिए । पक्राउ पर्नेहरूमा राजेश यादव र पिन्टु यादव भन्ने व्यक्ति रहेका छन् । उनीहरु दुबैलाई खुट्टामा गोली लागेको छ । घाईते दुई जनाको अहिले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले बताएको छ । फरार रहेका अन्य तिन जनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।